काठमाडौँ, असार २७- स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब बीमितले उपचारको सुरुवात आफू नजिकको अस्पताल वा स्वास्थ्य संस्थाबाटै गर्न सक्ने भएका छन्। स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गते देखि लागू हुने गरी देशभरका ३८४ वटा स्वास्थ्य संस्थाहरूलाई प्रथम सेवा विन्दु को रूपमा तोकेको छ।
यसअघि बीमितले पहिले नै छानेको निश्चित स्वास्थ्य संस्था (प्रथम सेवा विन्दु) बाट मात्र उपचार सुरु गर्न पाउने व्यवस्था थियो। यस्तो प्रणालीले आकस्मिक अवस्था वा यात्राको क्रममा अन्यत्र पुग्दा बीमा सुविधा लिन कठिनाइ हुने गरेको थियो।
बोर्डका अनुसार, नयाँ प्रणाली लागू भएपछि बीमितहरूलाई उपचारको लागि अब अनिवार्य रूपमा पुरानै सेवा विन्दुमा जानु नपर्ने भएको छ। उनीहरूले जुनसुकै बेला आफू नजिकको तोकिएको स्वास्थ्य संस्थामा पुगेर सिधै उपचार सुरु गर्न सक्नेछन्।
बोर्डले पहिलो चरणमा सार्वजनिक र केही निजी संस्थासहित कुल ३८४ स्वास्थ्य संस्थाहरूलाई यो सुविधामा समेटेको हो। तीमध्ये धेरैजसो प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, सामुदायिक अस्पताल तथा शहरी क्षेत्रमा रहेका ठूला अस्पतालहरू रहेका छन्। स्वास्थ्य बीमा बोर्डका एक अधिकृतले भने, "नयाँ प्रणालीले बीमितलाई सस्तो, सहज र समयमै सेवा पाउने सुनिश्चितता दिन्छ।"
बोर्डले बीमितलाई आफैंले नजिकको सेवा विन्दुमा गई उपचार गराउन सहज होस् भन्ने हेतुले उक्त निर्णय लिएको जनाएको छ। साथै, यी संस्थाको पूर्ण सूची बोर्डको वेबसाइटमा सार्वजनिक गरिएको जानकारी दिएको छ। यसले विशेषगरी ग्रामीण भेगमा रहेका नागरिकहरूलाई प्राथमिक उपचार सजिलै पाउने वातावरण बनाउने अपेक्षा गरिएको छ।
के छ नयाँ व्यवस्थारु
- बीमितले नजिकको अस्पतालबाटै उपचार सुरु गर्न पाउने
 - पहिलेकै सेवा विन्दुमा जानुपर्ने बाध्यता हटाइयो
 - आकस्मिक अवस्थालाई ध्यानमा राखी लचिलो बनाइएको
 - देशभरका ३८४ स्वास्थ्य संस्था तोकिए
 
बोर्डले सार्वजनिक गरेको प्रथम सेवा विन्दुको सूची हेर्नुहोस् :




