
एजेन्सी, असार २६- भारतको बीकानेरस्थित उँट अनुसन्धान केन्द्र र दुबईको सेन्ट्रल भेटेरिनरी रिसर्च ल्याबका वैज्ञानिकहरूले संयुक्त रूपमा गरिएको अनुसन्धानबाट एक चासोपूर्ण खोज गरेका छन्। उनीहरूले पत्ता लगाएका छन् कि उँटको आँशुमा २६ प्रकारका विषालु सर्पहरूको विषको उपचार गर्ने क्षमता पाइन्छ।
यो खोज विशेष गरी भारत, नेपाल र अन्य दक्षिण एशियाली मुलुकहरूका लागि महत्वपूर्ण छ, जहाँ सर्पदंशबाट हुने मृत्यु र अपाङ्गताको दर उच्च छ। अनुसन्धानकर्ताहरूले उँटलाई विषालु सर्पहरूको सानो मात्रामा विष दिँदै प्रतिरक्षा प्रतिक्रिया विकास गराएका थिए। त्यसपछि उँटको रगत र आँशुबाट लिइएका नमूनामा गरिएको परीक्षणले तीमा रहेको एन्टिबडीहरूले न्युरोटक्सिन र हिमोटक्सिन जस्ता विषहरूको उपचार गर्न सक्छन्।
उँटको एन्टिबडी सामान्य एन्टिबडीभन्दा साना हुन्छन्, जसले शरीरभित्र गहिरो तन्तुसम्म पुगेर प्रभावकारी रूपमा काम गर्न सक्छ। साथै, घोडाबाट बनाइने परम्परागत एन्टिभेनममा देखिने एलर्जिक प्रतिक्रिया उँटको एन्टिबडीमा कम देखिन्छ। यसका अतिरिक्त, उँटको आँशु र प्रोटिनहरू तातो तापक्रममा पनि स्थिर रहन्छन्, जसले विद्युत् वा फ्रिज अभाव भएका ग्रामीण क्षेत्रहरूमा प्रयोग गर्न सहज बनाउँछ।
यस अनुसन्धानमा बीकानेर, जैसलमेर र जोधपुरका उँटपालकहरूले पनि सहभागिता जनाएका छन्। उनीहरूले रगत र आँशु प्रदान गरेबापत प्रति उँट रु.५,००० देखि रु.१०,००० सम्म मासिक आम्दानी गर्न थालेका छन्। यसले न केवल उँटपालक समुदायको आम्दानी बढाउनेछ, बरु घट्दो उँट जनसंख्या संरक्षणमा पनि सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
हालसम्म यो खोज प्रारम्भिक चरणमा रहेको भए पनि, भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया जस्ता प्रमुख औषधि कम्पनीहरूले यसमा चासो देखाइरहेका छन्। यदि यो खोज सफलतापूर्वक औषधिमा रूपान्तरण गर्न सकियो भने, सर्पदंश उपचारको क्षेत्रमा ऐतिहासिक मोड सावित हुन सक्छ।