Swasthya Awaj
कञ्चनपुरमा डेंगु नियन्त्रणका लागि लार्भा खोजी र नष्ट गर्ने अभियान सुरु

कञ्चनपुर, असार २६- वर्षात्को समयमा डेंगुको संक्रमणको जोखिम बढ्दै गएपछि कञ्चनपुर स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा पहिचान गरी नष्ट गर्ने तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले घर–आँगन सफा राखेर पानी जम्ने ठाउँ हटाउने कामबाट डेंगु नियन्त्रणको सुरुवात गरिएको बताए।

स्वास्थ्य कार्यालयले फूलदानी, बाल्टिन, टायर, ड्रम, कुलर, ट्यांकी तथा प्लास्टिकका भाँडाहरूमा जमेको पानीमा लामखुट्टेको लार्भा हुने भएकाले ती स्थानमा नियमित रूपमा सफाइ गर्न र पानी फाल्न स्थानीय समुदायलाई सचेत गराएको छ। यसका लागि विभिन्न पालिकाहरूमा भेला गरेर लामखुट्टे लार्भा पहिचान गर्ने तरिका सिकाउने, सर्भेक्षण गर्ने र सचेतना फैलाउने कार्यक्रमहरू चलाइरहेको छ।

TB

कार्यक्रमका सहभागीहरूलाई लामखुट्टेको सक्रिय समय बिहान र दिउँसो लामो बाहुला भएका कपडा लगाउने, शरीर खुला नराख्ने, लामखुट्टे भगाउने क्रिम प्रयोग गर्ने, झ्यालढोकामा जाली लगाउने र सुत्दा झुल प्रयोग गर्ने जस्ता सावधानी अपनाउन सुझाव दिइएको छ।

स्वास्थ्यकर्मीहरू भन्छन्, “टुक्रा–टुक्रा प्लास्टिक र भाँचिएका भाँडाहरू खुला ठाउँमा नराख्नुपर्छ। डेंगुका लक्षण देखिएमा ज्वरो, टाउको र हड्डी दुख्ने जस्ता समस्या भएमा तुरुन्त स्वास्थ्य संस्था पुग्नु आवश्यक छ।”

औलो निरीक्षक भट्टका अनुसार, एडिस एजिप्टाइ जातको लामखुट्टेले डेंगु सार्ने भएकाले यसको जीवनचक्र अनुसार अण्डा, लार्भा, प्युपा र वयस्क अवस्थालाई नियन्त्रण गर्नुपर्छ। लार्भा मुख्यत पानीमा बन्छ र पानी जम्ने भाँडाकुडा यसको स्रोत हुन्।

डेंगु संक्रमणमा उच्च ज्वरो, टाउको दुखाइ, आँखाको पछाडि दुख्ने र मांसपेशी तथा हड्डी दुख्ने लक्षण देखिन्छ। हालसम्म डेंगुको कुनै विशेष उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै प्रमुख उपाय हो।

शुक्लाफाँटा नगरपालिकामा सफलतापूर्वक सम्पन्न भएको अभियानलाई अगाडि बढाउँदै कञ्चनपुरका अन्य स्थानहरूमा पनि सचेतनामूलक कार्यक्रम संचालन हुने योजना बनाइएको छ। पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले यस किसिमका कार्यक्रमले डेंगु नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यस वर्षको साउनदेखि हालसम्म कञ्चनपुरमा २९ जनामा डेंगुको संक्रमण देखिएको छ। स्वास्थ्यकर्मीहरूले वर्षा अझै बाँकी रहेकोले डेंगु संक्रमणको जोखिम बढ्ने भएकाले सचेत हुन आग्रह गरेका छन्।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update