Swasthya Awaj
बागमती प्रदेशका ६ अस्पतालमा डायलासिस सेवा विस्तार, १६ नयाँ मेसिन जडान

काठमाडौं, असार २५- मिर्गौला रोगका बिरामीका लागि राहत हुने गरी बागमती प्रदेशका विभिन्न सरकारी अस्पतालमा १६ थान नयाँ डायलासिस मेसिन जडान गरिएको छ। यससँगै अब प्रदेश भित्रै बिरामीले नियमित डायलासिस सेवा पाउने भएका छन्।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेका विवरण अनुसार भक्तपुर अस्पतालमा पाँच, हेटौँडा अस्पतालमा तीन, धादिङ, सिन्धुली, बकुलहर रत्ननगर तथा त्रिशूली अस्पतालमा दुई-दुईवटा डायलासिस मेसिन जडान गरिएको हो।

TB

भक्तपुर अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार उक्त अस्पतालमा पाँच शय्याको डायलासिस सेवा सञ्चालनमा आइसकेको छ। अन्य अस्पतालहरूमा पनि आवश्यक पूर्वाधार तयारीसहित सेवा विस्तारको तयारी भइरहेको छ।

प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सरकारी अस्पतालमा डायलासिस मेसिन थपिएसँगै बिरामीले निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरेका छन्। “मिर्गौला पीडितको उपचार अब सस्तो, सहज र नजिक हुनेछ,” उनले भने।

हालसम्म नेपालभर १०० भन्दा बढी डायलासिस केन्द्रहरूमा करिब ५७० डायलासिस मेसिन सञ्चालनमा छन्। तर पनि मागअनुसार सेवा विस्तार हुन सकेको छैन। बागमती प्रदेशको यस पहलले सेवा अभावमा रहेका बिरामीलाई राहत दिने विश्वास गरिएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हजारौं मिर्गौला रोगीले हप्तामा दुईदेखि तीनपटक डायलासिस गराउँदै आएका छन्। धेरैले निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यता रहँदै आएको छ।

सरकारले आगामी दिनमा मानव संसाधन व्यवस्थापन, मेसिनको नियमित मर्मत तथा स्तरीय सेवा सुनिश्चित गर्दै सेवा दिगो बनाउने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update