
काठमाडौं, असार २५- नेपालमा स्वास्थ्य क्षेत्रको सेवा र योगदानलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘स्वास्थ्यखबर हेल्थ अवार्ड’ को १३औं संस्करणका लागि आवेदन खुला गरिएको छ।
स्वास्थ्य खबर फाउन्डेसनको आयोजनामा वितरण गरिने अवार्डका लागि असार २४ गतेदेखि साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ। व्यक्तिगत तथा संस्थागत तर्फबाट स्वास्थ्य सेवामा उल्लेखनीय योगदान दिएका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्।
अवार्डका लागि स्वास्थ्यकर्मी, नर्स, फार्मेसी स्टाफ, लैब टेक्निसियन, महिला स्वास्थ्य स्वयंसेविका, जनस्वास्थ्यकर्मी, स्थानीय सरकार प्रतिनिधि, स्वास्थ्य शिक्षक तथा सञ्चारकर्मी, वैकल्पिक चिकित्सा क्षेत्रका विज्ञहरू र स्वास्थ्य संस्था सहभागी हुन सक्नेछन्।
आवेदन इमेल ([email protected]) मार्फत पठाउन सकिनेछ। प्राप्त आवेदन तथा मनोनयनहरू मूल्यांकन गरी योग्य उम्मेदवारलाई पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा हुने यस कार्यक्रमको मुल्यांकन प्रक्रिया स्वतन्त्र विज्ञ समूहले गर्नेछ। मूल्यांकनमा सेवाको प्रभाव, योगदानको दिगोपन, नवप्रवर्तनशीलता, र जनस्वास्थ्यमा परेको प्रभावलाई आधार बनाइनेछ।
संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार दिएको सन्दर्भमा, सो अधिकारको प्रवर्द्धनमा योगदान दिने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यका साथ हेल्थ अवार्ड सञ्चालन हुँदै आएको हो।
हेल्थ अवार्डले विगतका वर्षहरूमा ग्रामीण भेगमा सेवा गरेका चिकित्सकदेखि महिला स्वयंसेविका, सामुदायिक स्वास्थ्य संस्था र जनस्वास्थ्य अभियन्ताहरूलाई सम्मानित गर्दै आएको छ।
आधारभूत स्वास्थ्यका विषयमा जनस्वास्थ्य सेवा नियमावलीमा रहेका विषयहरु हेर्न यहाँ क्लिक गर्नुहोस ।