Swasthya Awaj
स्वास्थ्य मन्त्री पौडेलको कार्यकालमाथि प्रश्न उठ्दै, हटाउने तयारी

काठमाडौँ, असार २५- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलको कार्यकालमाथि गम्भीर प्रश्न उठेका छन्। उच्च सरकारी स्रोतका अनुसार, मन्त्री पौडेलको नीतिगत निर्णयहरू कार्यान्वयनमा असफल भएका कारण उनलाई हटाउने तयारी भइरहेको छ।

पार्टी र मन्त्रालयभित्रै मन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि बढिरहेको स्रोतहरूको भनाइ छ। मन्त्री पौडेलको कार्यकालमा स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार नदेखिएको र सार्वजनिक स्वास्थ्य सेवामा कमजोरी देखिएको छ।

TB

मन्त्री पौडेल आफैं पनि स्वास्थ्य समस्याबाट ग्रस्त छन्। स्रोतका अनुसार, उनको आन्द्रामा गम्भीर समस्या देखिएको छ र उनी औषधि सेवन गर्दै आराममा रहेका छन्। यस्तो अवस्थामा आफूलाई चिकित्सकीय कारणले राजीनामा दिने अवसरका रूपमा प्रस्तुत गर्ने विकल्प उनीसँग छ।

पाँच लाखको स्वास्थ्य बीमा योजना भने भाषणमै सीमित भएको छ। मन्त्री पौडेलले मन्त्री नियुक्त भएलगत्तै जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने योजनाको रूपमा स्वास्थ्य बीमाको रकम पाँच लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेका थिए। तर, सो योजना व्यवहारमा असम्भव सावित भएको छ।

मन्त्री पौडेलको कार्यकालमा स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रिया पनि कमजोर देखिएको छ। विगत वर्षहरूमा औसत तीन अर्ब रुपैयाँ बराबरको औषधि तथा सामग्री खरिद गरिनुपर्नेमा चालु आर्थिक वर्षमा डेढ अर्ब बराबरको खरिद पनि सम्पन्न हुन सकेको छैन। आधारभूत जनस्वास्थ्य सामाग्री कन्डमजस्ता परिवार नियोजनका साधन समेत आवश्यक मात्रामा खरिद हुन सकेका छैनन्।

पार्टी कार्यकर्ता सञ्जालमै बाँधिएर मन्त्री पौडेलले सरकारको मन्त्रीको रूपमा नीतिगत नेतृत्व, प्रणालीगत सुधार र सार्वजनिक उत्तरदायित्व वहन गर्नुपर्ने भूमिकालाई आत्मसात् गर्न नसकेको आरोप छ।

स्वास्थ्य मन्त्रालय देशको अत्यन्त संवेदनशील तथा उच्च प्राथमिकताको क्षेत्रमा पर्छ। तर, पछिल्ला केही महिनामा देखिएको कार्यसम्पादन, योजना निर्माण र सेवा प्रवाहको अवस्थाले मन्त्री पौडेलको नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update