
काठमाडौँ, असार २५- नेपालमा मेडिकल अध्ययन गर्न चाहने विदेशी विद्यार्थीका लागि भर्ना प्रक्रिया झन्झटिलो र खर्चिलो बनेको गुनासो बढ्दो छ। अनलाइन सुविधा नहुनु, अनावश्यक कागजी प्रक्रिया र जटिल नियमका कारण नेपाली मेडिकल शिक्षाले सम्भावित विद्यार्थी गुमाउँदै गएको सरोकारवालाहरूको भनाइ छ।
हाल नेपालमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीले आफैं वा अभिभावकमार्फत नेपाल आएर आवेदन दिनुपर्ने बाध्यता छ। चिकित्सा शिक्षा आयोगले एजेन्टमार्फत आवेदन प्रक्रिया स्वीकार नगर्दा भर्ना प्रणाली झनै कठिन बनिरहेको छ।
शैक्षिक विज्ञहरूका अनुसार अहिलेको युगमा अनलाइन प्रणालीमार्फत प्रवेश परीक्षा, अन्तर्वार्ता तथा कागजात प्रमाणीकरण सहजै गर्न सकिने भए पनि नेपालमा अझै परम्परागत विधिबाट प्रक्रिया अघि बढाइँदै आएको छ।
“डिजिटल युगमा पनि चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरूलाई कागज बोकेरै आउन बाध्य बनाएको छ। विदेशी विद्यार्थीलाई सहज बनाउने हो भने प्रक्रिया सरल र प्रविधिमैत्री बनाइनुपर्छ,” एक निजी मेडिकल कलेजका प्राचार्यले बताए।
विश्वका धेरै देशहरू जस्तै भारत, फिलिपिन्स, बंगलादेश, टर्की र चीनले अनलाइन भर्ना प्रक्रिया, एजेन्टमार्फत कलेज प्रतिनिधित्व, र दूतावास-केन्द्रित ‘On the Spot Admission’ कार्यक्रममार्फत ठूलो संख्यामा विदेशी विद्यार्थी भित्र्याइरहेका छन्। तर नेपाल भने अझै प्रक्रियागत कठोरतामा अडिएको छ।
नेपालमा अध्ययनको खर्च तुलनात्मक रूपमा कम हुनु, प्राकृतिक वातावरण अनुकूल हुनु, र सांस्कृतिक सहिष्णुता जस्ता विशेषताका बाबजुद पनि प्रशासनिक जटिलता र नीति अस्पष्टताले अवसर खेर गइरहेको विज्ञहरूको बुझाइ छ।
चिकित्सा शिक्षा आयोगले भने भर्ना प्रक्रियालाई व्यवस्थित बनाउने प्रयास भइरहेको बताउँदै आवश्यक परे नियमहरू परिमार्जन गर्न सकिने संकेत दिएको छ।
सरकारले शिक्षा क्षेत्रलाई विदेशी लगानी र अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने माध्यम बनाउन खोजिरहेको समयमा यस्तो जटिलता समाधान नगरे नेपालको शैक्षिक प्रतिस्पर्धा क्षमतामा ठूलो असर पर्ने विश्लेषकहरूको चेतावनी छ।