Swasthya Awaj
कम्युनिटी नर्सिङ सेवा : नयाँ अर्गानोग्राम अघि न्यायको अपेक्षा

काठमाडौँ, असार २४- स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड मानिने कम्युनिटी नर्सिङ सेवामा संरचनागत उपेक्षा र असमानताको मार झेलिरहेको विषयले अहिले स्वास्थ्य क्षेत्रलाई पुनः ध्यानाकर्षण गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नयाँ अर्गानोग्राम तयार पार्दै गर्दा कम्युनिटी नर्सहरूलाई ‘गर्भमै तुहाउने’ शैलीमा संस्थागत रुपमा पछाडि पारिने चिन्ता बढ्दो छ।

हाल कम्युनिटी नर्सिङमा केवल दशौँ तहसम्म मात्र दरबन्दी खुला गरिएको छ। यसपछिका उच्च तहहरूमा दरबन्दी नखुल्दा, वर्षौँदेखि आठौँ तहमा कार्यरत नर्सहरूले पदोन्नतिको आशा गुमाएको अवस्था छ। यता अस्पताल नर्सिङमा भने ११ तहसम्म दरबन्दी खुला गरिएको छ र आन्तरिक प्रतिस्पर्धा मार्फत अगाडि बढ्न पनि अवसर दिएको छ। यस असमानताले पब्लिक हेल्थ क्षेत्रमा कार्यरत थुप्रै कर्मचारीहरूमा गहिरो असन्तोष उत्पन्न गरेको छ।

एक पब्लिक हेल्थ विशेषज्ञको भनाइ छ, “अस्पताल नर्सिङमा कार्यरत मानिसहरूको परिवारले कम्युनिटी नर्सिङलाई हेर्ने दृष्टिकोण नै फरक छ। यस्तो मानसिकता संस्थागत अन्याय र सेवा वितरणमा असन्तुलन सिर्जना गर्ने खतरा हो।”

TB

हाल नौ र दसौँ तहमा कार्यरत कम्युनिटी नर्समध्ये कविता अर्याल र शर्मिला पौडेल मात्रै छन्। उनीहरू अवकाश नभएसम्म अरूलाई अगाडि बढ्ने बाटो बन्द हुनेछ। आठौँ तहका कर्मचारीहरू पदोन्नतिको पर्खाइमा अलपत्र छन्। यस बीचमा प्रशाशन तर्फ केहीले पदोन्नति पाए पनि व्यापक स्तरमा समस्या छ।

केही प्रतिस्पर्धी कम्युनिटी नर्सहरू अस्पताल नर्सिङको खुला प्रतिस्पर्धामा सफल भएका छन् तर अन्तर्वार्तामा चयन प्रक्रिया रोकिएको छ। यो विषय हाल उपभोक्ता अदालतमा विचाराधीन छ। यसले कम्युनिटी नर्सहरूको क्षमतामा कुनै शंका नरहेको देखाउँछ, तर व्यवस्थागत संरचनाले अझै उनीहरूको योग्यताको कदर नगरेको झल्काउँछ।

अस्पताल नर्सिङबाट कम्युनिटी नर्सिङतर्फ सर्न पाउने व्यवस्था छ भने उल्टो प्रक्रिया रोकिएको छ, जसले पब्लिक हेल्थ क्षेत्रको जनशक्ति कमजोर बनाउने चिन्ता व्यक्त गरिएको छ।

मन्त्रालयको नयाँ अर्गानोग्राम अन्तिम चरणमा छ। चिकित्सकहरूको नेतृत्व दरबन्दी थप्न भने सकारात्मक नभए पनि, प्रशासनिक नेतृत्वले कम्युनिटी नर्सिङको महत्व बुझेको देखिन्छ र ११ तहसम्म दरबन्दी खुला गर्ने सम्भावनामा संवेदनशीलता देखाइरहेको छ।

यो नयाँ अर्गानोग्रामले विगतको गल्ती नदोहर्याएर कम्युनिटी नर्सहरूको करियर विकासका लागि नयाँ ढोका खोल्न आवश्यक छ। करियरमा अवरोध नआउने गरी केही दरबन्दी ११ तहसम्म विस्तार गर्नु भनेको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने आधार बनाउनु हो।

अस्पताल र कम्युनिटी नर्सिङ दुवै एकअर्काका पूरक क्षेत्र हुन्। एउटालाई दबाएर अर्कोको विकास हुँदैन। नयाँ अर्गानोग्राम न्यायको ढोका हो, यो बन्द नभई खुला हुनुपर्ने बेला आएको छ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update