काठमाडौँ, असार २३- चिकित्सा पेशाको गरिमा, चिकित्सकहरूको व्यावसायिक सुरक्षा, र बिरामीको हक हितलाई केन्द्रमा राख्दै राष्ट्रिय चिकित्सक संघ नेपालले आज एक आकस्मिक केन्द्रीय समिति बैठक पश्चात् १० बुँदे महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । यी निर्णयहरू वर्तमान समयका संवेदनशील स्वास्थ्य तथा कानुनी चुनौतीहरूलाई गम्भीरतापूर्वक मनन गर्दै पारित गरिएको संघले जनाएको छ ।
कानुनी अन्योल र चिकित्सकमाथि बढेको चुनौती?
चिकित्सक संघका अनुसार, हालका उपभोक्ता संरक्षण ऐन अन्तर्गतका विवादहरू र अदालतका फैसलाहरूका कारण चिकित्सक समुदाय गम्भीर चुनौतीको सामना गरिरहेको छ । उपभोक्ता संरक्षण ऐनअन्तर्गत गरिएका केही फैसलाहरूले उपचारको नियत, सेवा सन्दर्भ, र देशको स्वास्थ्य प्रणालीको वास्तविकतालाई नबुझेको भन्दै चिकित्सकहरू मात्र नभई सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीलाई नै अन्योलमा पारेको संघको ठहर छ । नेपालको वर्तमान कानुनी संरचनामा चिकित्सा सेवा सम्बन्धी उत्तरदायित्व, नियमन र अधिकारको विषयमा अस्पष्टता रहँदै आएको र यसका कारण चिकित्सकहरू अनावश्यक कानुनी जोखिममा पर्ने अवस्था उत्पन्न भइरहेको ल्म्ब्ल् ले उल्लेख गरेको छ । यस चुनौतीपूर्ण परिवेशमा, परिवर्तनको आवश्यकता कानुनमा मात्र सीमित नभई सेवा संरचना, संस्थागत आचरण, र चिकित्सकीय अभ्यासका बृहत् आयामहरूमा समेत हस्तक्षेप गर्नुपर्नेमा चिकित्सक संघले जोड दिएको छ । स्वास्थ्य सेवा प्रणालीमा सुधार एक दिनमा हुने उपलब्धि नभई नीति निर्माण, संस्थागत सुधार, र चिकित्सकीय निष्ठा एकआपसमा जोडिन आवश्यक रहेको दीर्घकालीन यात्रा हो भन्दै चिकित्सक संघले दीर्घकालीन सुधारका उपायहरू प्रस्तुत गरेको छ ।
राष्ट्रिय चिकित्सक संघ नेपालका १० बुँदे महत्वपूर्ण निर्णयहरू?
१. नीतिगत पहल र कानुनी सुधार
- राष्ट्रिय चिकित्सक संघ नेपालले उपभोक्ता संरक्षण ऐन २०७५, मुलुकी ऐन, फौजदारी कानुन, तथा नागरिक टोर्ट कानुनबीचको अन्तर्सम्बन्ध स्पष्ट पार्ने उद्देश्यले एक औपचारिक श्वेतपत्र तयार गर्नेछ ।
- चिकित्सा अभ्यासको संवेदनशीलता, बिरामीको अवस्था, सूचना प्रवाह, र देशको संरचनागत सीमाहरूलाई ध्यानमा राख्दै "Informed Consent and Medical Responsibility" ऐन निर्माणका लागि सरकारसँग पहल गरिनेछ । यस ऐनले चिकित्सक र बिरामी दुवैको हक र उत्तरदायित्वलाई स्पष्ट रूपमा परिभाषित गर्नेछ ।
२. इन्डेम्निटी बीमाको प्रभावकारी कार्यान्वयन
- चिकित्सकहरूलाई सेवा दिँदा उत्पन्न हुने अनपेक्षित कानुनी जोखिमबाट सुरक्षित राख्न मेडिकल इन्डेम्निटी इन्स्योरेन्स अत्यावश्यक सुरक्षा प्रणाली भएकोले, नेपाल सरकारद्वारा स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थाको सुरक्षा सम्बन्धी ऐनमा समावेश भएको यो बीमा यथाशीघ्र कार्यान्वयनमा ल्याउन र देशभर उपलब्ध गराउन राष्ट्रिय चिकित्सक संघ नेपालले माग गरेको छ ।
- बीमाको प्रिमियम योगदानमा सरकार, अस्पतालहरू, र बीमा कम्पनीहरूबीच समानुपातिक उत्तरदायित्व तोकिएर सबै पक्षको सहभागिता सुनिश्चित गरिनुपर्ने ल्म्ब्ल् को स्पष्ट धारणा छ ।
३. चिकित्सकहरूको कानुनी सशक्तीकरण र शिक्षा
- चिकित्सा अभ्यास अब केवल वैज्ञानिक दक्षता मात्र नभई कानुनी साक्षरताको पनि आवश्यकता भएकोले, चिकित्सकहरूलाई सुरक्षित र जिम्मेवार सेवा अभ्यासका लागि आवश्यक कानुनी जानकारी, नैतिक ज्ञान, र व्यवहारिक सीप विकास गर्न राष्ट्रिय चिकित्सक संघ नेपाल प्रतिबद्ध छ ।
- यस सन्दर्भमा चिकित्सक, कानुनविद्, र चिकित्सा नैतिकताविद्हरू समावेश भएको स्वास्थ्य कानुन सल्लाहकार समिति गठन गरिनेछ ।
- चिकित्सकहरूका लागि व्यवस्थित शिक्षा प्याकेज तयार गरिनेछ, जसमा सूचित सहमति (Informed Consent), दस्तावेजीकरण (Documentation), बिरामीसँगको प्रभावकारी संवाद, कानुनी प्रक्रिया, र पेशागत उत्तरदायित्वका विषयहरू समेटिनेछन् ।
४. न्यायोचित क्षतिपूर्ति निर्धारण संरचना निर्माण
- चिकित्सकहरूलाई दण्डित गर्ने प्रक्रिया निष्पक्ष र विवेकसम्मत हुनु अत्यन्त आवश्यक रहेको र क्षतिपूर्तिको निर्धारण मनोगत नभई कानुनी सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रिय चिकित्सक संघ नेपालको मत छ ।
- नियत (intent), हानि (harm), पूर्वानुमानयोग्यता (foreseeability), र बिरामीको सहभागिता वा लापरवाही जस्ता कारकहरूलाई मापन गर्ने तथ्यपरक क्षतिपूर्ति संरचना निर्माणका लागि संसद र न्यायालयसँग पहल गरिनेछ ।
- यस प्रक्रियामा विशेषज्ञ चिकित्सकहरूको पक्षपातरहित, प्रमाणमा आधारित राय अनिवार्य रूपमा परामर्शस्वरूप लिनुपर्ने व्यवस्था माग गरिनेछ ।
५. न्यायिक फैसलाको समीक्षा र नीतिगत दस्तावेज निर्माण
- चिकित्सा पेशामाथि भएका फैसलाहरूको समग्र अध्ययनले दीर्घकालीन सुधारका आधार तयार गर्न सक्ने भएकाले, राष्ट्रिय चिकित्सक संघ नेपालले विगतमा भएका चिकित्सा लापरबाही सम्बन्धी न्यायिक निर्णयहरूको समीक्षा गर्न विशेष कार्यदल (Special Task Force) गठन गर्नेछ ।
- सो विश्लेषणको आधारमा नीति निर्माताहरूलाई प्रस्तुत गर्न सकिने प्रमाण(आधारित सिफारिसहरू तयार पारिनेछ ।
- विभिन्न विशेषज्ञ समाजहरूसँग समन्वय गरी राष्ट्रिय चिकित्सा मापदण्ड, कागजातिकरण विधि र सञ्चार निर्देशिका विकासमा अग्रसर हुनेछ ।
६. सुरक्षित र सम्मानजनक पेशागत वातावरणको प्रत्याभूति
- चिकित्सकको सेवा प्रभावकारिता उनको सीप मात्र नभई उनको कार्य वातावरणमा निर्भर हुने भएकाले राष्ट्रिय चिकित्सक संघ नेपालले यस्तो वातावरण निर्माण गर्न निम्न बुँदाहरू अघि सारेको छ ।
- एक चिकित्सकले हेर्नुपर्ने दैनिक बिरामीको संख्या, शल्यक्रियाको संख्या, र कार्य समय व्यावसायिक सीमा तोक्नुपर्ने ।
- चिकित्सकीय अभ्यास सम्बन्धी शुल्कहरू समयसापेक्ष रूपमा मूल्य समायोजन गरी सेवा निरन्तरता र गुणस्तर सन्तुलन कायम गरिनुपर्ने ।
- प्रयोगशाला र अत्यावश्यक औषधिको गुणस्तर सरकारले सुनिश्चित गर्नुपर्ने ।
७. मर्यादित विरोध कार्यक्रम र जनभावनाको सम्मान
- स्वास्थ्य सेवा एक संवेदनशील सेवा भएकोले, राष्ट्रिय चिकित्सक संघ नेपालले कुनै पनि विरोध कार्यक्रम गर्दा शान्तिपूर्ण, मर्यादित, र प्रतीकात्मक हुने (कालोपट्टी लगाउने, मौन धर्ना, जनचेतना र्याली आदि) प्रतिबद्धता व्यक्त गरेको छ ।
- कुनै पनि आकस्मिक सेवा अवरोध नहुने सुनिश्चित गरिनेछ, ताकि आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् ।
८. संस्थागत सहकार्य र साझा प्रतिबद्धतास्
- चिकित्सा सेवा सुधार एकल संस्थाको प्रयासबाट सम्भव नभएकोले, राष्ट्रिय चिकित्सक संघ नेपालले नेपाल मेडिकल एशोसिएशनसँग पारदर्शी कार्ययोजना र साझा उद्देश्यका आधारमा रणनीतिक साझेदारी गहिरो बनाइने र राष्ट्रिय चिकित्सक संघ नेपालले तय गरेको विरोध कार्यक्रममा ल्म्ब्ल् को ऐकेबद्धता रहने घोषणा गरेको छ ।
- चिकित्सा नैतिकता, उत्तरदायित्व, र सेवा सुधारबारे बहस उठाउन राजनीतिक दल, नागरिक समाज, तथा सञ्चार क्षेत्रसँग सशक्त संवादको थालनी गरिनेछ ।
- राष्ट्रिय चिकित्सक संघ नेपालको रणनीतिक क्षमतामा विविधता र समावेशिता थप गर्न पूर्वपदाधिकारीहरू, क्षेत्रीय प्रतिनिधिहरू, र प्रतिष्ठित विज्ञहरूलाई बैठकमा समावेश गर्ने निर्णय गरिएको छ ।
९. न्यायिक प्रक्रियामा चिकित्सा विशेषज्ञताको सम्मान अनिवार्य गर्ने
- न्यायिक निर्णयको विश्वसनीयता तभी स्थापित हुन्छ, जब त्यसमा विषयगत विशेषज्ञताको भूमिका सुनिश्चित गरिन्छ भन्ने राष्ट्रिय चिकित्सक संघ नेपालको मान्यता छ ।
- अदालतमा नेपाल मेडिकल काउन्सिल मार्फत वा मेडिकल ट्राइब्युनल मार्फत चिकित्सा विशेषज्ञ राय अनिवार्य रूपमा परामर्शस्वरूप समावेश गरिनुपर्ने र सो रायलाई पर्याप्त सम्मान नगरी गरिएको निर्णय वैधानिक कमजोरी ठहरिने अवधारणालाई संस्थागत बनाउन पहल गरिनेछ ।
- नेपालको सन्दर्भ अनुकूल चरणबद्ध रूपमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त न्यूनतम सेवा मापदण्डहरू लागू गर्ने दीर्घकालीन रोडम्याप तयार गरिनेछ ।
१०. बिरामी सुरक्षामा चिकित्सकको अग्रसर भूमिकाः नैतिक नेतृत्वको प्रतिबद्धतास्
- राष्ट्रिय चिकित्सक संघ नेपालको विश्वास छ कि चिकित्सकहरू बिरामी सुरक्षाका प्राकृतिक संरक्षक हुन्, किनकि उनीहरूलाई मात्र बिरामीको अवस्था, जोखिम, र उपचारको अन्तरसम्बन्धबारे समग्र दृष्टिकोण हुन्छ ।
- यदि चिकित्सकहरूले यो भूमिका सक्रियतापूर्वक वहन गरेनन् भने, अन्य व्यावसायिक वा स्वार्थप्रेरित समूहहरूले त्यसको स्थान लिनेछन् जसले दीर्घकालीन रुपमा बिरामीलाई नै प्रतिकूल असर पर्नेछ ।
- चिकित्सा समुदायले नैतिकता, सेवा, पारदर्शिता, र न्यायको अग्रगामी नेतृत्व लिनैपर्छ, किनकि बिरामीको सुरक्षा र भरोसा नै चिकित्सा पेशाको मूल अस्तित्व हो ।
राष्ट्रिय चिकित्सक संघ नेपालका प्रवक्ता डा. अरुण उप्रेतीले संघ बिरामीको अधिकार र हितका पक्षमा दृढ रहेको तर चिकित्सकहरूलाई आधारहीन आरोप र कानुनी उत्पीडनको सन्दर्भमा चुप लागेर बस्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय चिकित्सक संघ नेपाल, नेपाल मेडिकल एसोसिएसनसँगै उभिएको र चिकित्सा पेशाको गरिमा, सुरक्षा, र न्याय सुनिश्चित गर्न आफ्ना सम्पूर्ण साधन, सञ्जाल, र सामूहिक क्षमताको अधिकतम उपयोग गर्दै नीतिगत तहमा सशक्त र निर्णायक संघर्षको बाटोमा दृढतापूर्वक अघि बढ्ने घोषणा गरेको छ ।




