काठमाडौं, असार २०- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल वीर अस्पतालबाट डिस्चार्ज भएका छन्। गत शनिबार ज्वरोका कारण अस्पताल भर्ना गरिएका मन्त्री पौडेलको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।
वीर अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्री पौडेलको उपचार सफल रूपमा सम्पन्न भएको जनाएको छ। अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विषेशज्ञ चिकित्सकहरूको निगरानीमा पौडेलको उपचार गरिएको थियो।
विज्ञप्तिमा भनिएको छ, “मन्त्री प्रदीप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते ज्वरो आई यस चि.वि.रा.प्र. वीर अस्पतालमा भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भएको र हाल स्वास्थ्यमा सुधार भएकोले आज मिति २०८२/०३/२० गते अस्पतालबाट डिस्चार्ज हुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ।”
मन्त्री पौडेल शनिबार साँझ ज्वरो आएपछि वीर अस्पतालको आन्तरिक रोग विभागमा भर्ना गरिएका थिए। प्रारम्भिक परीक्षणपश्चात चिकित्सक टोलीले संक्रमणसम्बन्धी कारणले ज्वरो आएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको थियो।
चिकित्सकको सल्लाहअनुसार केही दिनको विश्राम र निगरानीपछि स्वास्थ्यमा सुधार भएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको हो। मन्त्रालय स्रोतका अनुसार मन्त्री पौडेल हाल घरमै विश्राम गरिरहेका छन् र चिकित्सकको सल्लाहअनुसार काममा फर्कने तयारीमा छन्।
स्वास्थ्य मन्त्रालय र वीर अस्पतालले मन्त्री पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राख्ने सबैलाई धन्यवाद दिँदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्।




