काठमाडौं, असार १९- नेपालमा कोभिड–१९ र डेंगी संक्रमण पुनः बढ्न थालेको तथ्यांकले देखाएको छ। महामारीको अवस्था केही शान्त देखिए पनि पछिल्लो साता मात्र देशभर ३५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने ७१ जनामा डेंगी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को साप्ताहिक प्रतिवेदनमा उल्लेख छ।
महाशाखाले बुधबार सार्वजनिक गरेको विवरण अनुसार कोभिड संक्रमणको सघनता बागमती प्रदेशमा उच्च देखिएको छ। यस्तै डेंगी संक्रमण देशका करिब सबै जिल्लामा फैलिएको छ।
सात दिनको अवधिमा ३५ जना नयाँ संक्रमित देखिएकोमा २४ जना बागमती प्रदेशका रहेका छन्। कोशीमा ६ जना, मधेशमा ३ जना र गण्डकी प्रदेशमा २ जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा कोभिडका कारण एक जनाको मृत्यु पनि भएको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा मात्रै ५ जना नयाँ संक्रमित भेटिएको र हालसम्म ३१ जिल्लामा सक्रिय केस देखिएको महाशाखाले जनाएको छ। स्वास्थ्य विशेषज्ञहरूले यस अवस्थालाई गम्भीर रूपमा लिँदै स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेका छन्।
यस्तै, डेंगी संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो सात दिनमा ७१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने देशभर ७३ जिल्लामा डेंगीका बिरामी फेला परेका छन्। यो संख्या वर्षायामसँगै अझै बढ्न सक्ने अनुमान स्वास्थ्य विज्ञहरूले गरेका छन्। डेंगी लामखुट्टेबाट सर्ने रोग हो जसले विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई बढी असर गर्ने गर्छ। विगत वर्षहरूमा डेंगीका कारण कैयौं जिल्लामा स्वास्थ्य संकट उत्पन्न भएको थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालय र स्थानीय तहहरूले संक्रमण फैलन नदिन सतर्कता अपनाउन थालेका छन्। कोभिड परीक्षणको संख्या बढाउन, डेंगी प्रभावित क्षेत्रमा फगिङ गर्न, सरसफाइ अभियनलाई तीव्र बनाउन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ। विशेषगरी स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै, कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।
विशेषज्ञहरूले संक्रमण नियन्त्रणमा सरकारको भूमिका महत्वपूर्ण भए पनि नागरिक तहबाट सचेतना अपनाउनै पर्ने बताएका छन्। कोभिड र डेंगी दुवै रोग सर्ने प्रकृतिका हुँदा मास्कको प्रयोग, साबुन–पानीले हात धुने, भीडभाड कम गर्ने, सफाइमा ध्यान दिने र पानी जम्न नदिने कार्य अत्यन्त महत्वपूर्ण मानिएको छ।
देशमा फेरि संक्रमणको लहर देखिन थालेको छ। कोभिड–१९ र डेंगीजस्ता संक्रामक रोगले स्वास्थ्य प्रणालीमा बोझ पर्ने खतरा रहेको भन्दै पूर्वतयारीमा कुनै पनि कमजोरी नगर्न विज्ञहरू जोड दिन्छन्। सरकारले निगरानी र अनुगमनलाई सशक्त बनाउँदै सार्वजनिक स्वास्थ्य सेवा तयारी अवस्था राख्नुपर्नेमा स्वास्थ्य नीति विश्लेषकहरू एकमत छन्।





