ललितपुर, असार १९- ललितपुर महानगरपालिकाले खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्दै ‘पूर्ण खोप सुनिश्चितता पालिका’ को मान्यता पाएको छ। स्थानीय सरकारको नेतृत्व, स्वास्थ्यकर्मीहरूको समर्पण र समुदायको सहभागिताले ललितपुरलाई उदाहरणीय पालिकाको रूपमा स्थापित गरेको हो।
सार्वजनिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै महानगरले आफ्ना २९ वटै वडाका खोप योग्य बालबालिकालाई नियमित तालिका अनुसारका सबै खोप लगाइसकेको घोषणा गरेको छ। खोप कार्यक्रमको समिक्षा र मूल्याङ्कनपछि ललितपुरलाई औपचारिक रूपमा ‘पूर्ण खोप पालिका’ घोषणा गरिएको हो।
स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनका अनुसार, महानगरले केही वर्षअघिदेखि खोप अभियानलाई योजना, कार्यान्वयन र अनुगमनको त्रिसूत्रीय ढाँचामा अघि बढाउँदै आएको थियो। विशेषगरी महिला स्वास्थ्य स्वयंसेविका, वडास्तरीय खोप संयोजक, स्थानीय विद्यालय, बाल–मेला तथा अभिभावक सचेतना कार्यक्रममार्फत खोपबारे सचेतना फैलाइएको थियो।
“हामीले एउटै लक्ष्य राख्यौं ‘कोही पनि बालबालिका खोपबाट छुट्नु हुँदैन’। त्यसका लागि घर–घर सर्वेक्षणदेखि छुटेका बालबालिकाको सूचीकृत अनुगमनसम्म गर्नुपर्यो,” महर्जनले भनिन्।
उक्त उपलब्धिपछि आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन लाई औपचारिक रूपमा ‘पूर्ण खोप सुनिश्चितता’ प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालय, संघीय तथा प्रादेशिक तहका प्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै प्रमुख महर्जनले भने, “खोप बालबालिकाको अधिकार मात्र होइन, भविष्यको आधार पनि हो। हामीले सबैलाई समेट्ने उद्देश्यसहित अघि बढेका थियौं, आज त्यसको परिणाम हामीले पाएँ।”
महानगरले यो अभियानलाई केवल एकपटकको उपलब्धिका रूपमा सीमित नगरी आगामी दिनमा पनि ‘खोप छुटेकालाई खोज्ने र आवश्यक सेवा पुनः पुर्याउने’ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
स्वास्थ्य शाखाले प्रत्येक वर्ष चैत महिनामा घरभेट सर्वेक्षण गर्ने, त्यसक्रममा छुटेका बालबालिकाको विवरण संकलन गरी वैशाख महिनामा खोप पुनः उपलब्ध गराउने कार्यक्रमलाई संस्थागत गर्न लागेको हो। “अब हामी प्रतिक्रिया आधारित होइन, तथ्यांक आधारित सेवा दिन चाहन्छौं,” स्वास्थ्य शाखा प्रमुखले भनिन्।
ललितपुर महानगरपालिकाले खोप अभियानलाई प्रभावकारी बनाउन डिजिटल प्रणालीमार्फत बालबालिकाको विवरण अभिलेख राख्ने, नियमित अपडेट गर्ने, मोबाइल–सन्देश तथा सूचना प्रणालीको प्रयोग गरी खोपको म्याद सम्झाउने अभ्यास समेत थालिसकेको छ। यसले खोप प्रणालीलाई पारदर्शी, उत्तरदायी र वैज्ञानिक ढाँचामा अगाडि बढाएको बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको ‘पूर्ण खोप सुनिश्चितता’ अभियानमा ललितपुर महानगरपालिकाले देखाएको सक्रियता र सफलताले अन्य नगर तथा गाउँपालिकाहरूका लागि मार्गदर्शन बन्न सक्ने विज्ञहरूको सुझाव छ।स्वास्थ्य अभियानहरूमा स्थानीय तहले नेतृत्व लिने र समुदायसँग सहकार्य गर्ने अभ्यासले खोपजस्ता मौलिक सेवा प्रणालीलाई धेरै जनसमुदायसम्म पुर्याउने सम्भावना देखिएको छ।
बालबालिकाको जीवन रक्षा र स्वास्थ्य सुरक्षामा ललितपुर महानगरको खोप अभियानले नयाँ उदाहरण बनाएको छ। अब यो अभियानले राष्ट्रिय स्तरमा पनि स्वास्थ्य अधिकार सुनिश्चित गर्ने दिशामा नीति निर्माणमा प्रभाव पार्न सक्छ। ‘एक पनि बालबालिका खोपबाट नछुटून्’ भन्ने लक्ष्य बोकेर अघि बढेको महानगरले अब यो अभियानलाई निरन्तरता दिने र खोप नपुगेका क्षेत्रमा घरघरमा सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।




