
पाल्पा, असार १९- एउटा झुपडी, एक आमा र एक बालक जसको जीवन सधैंभरि फलामको खोरभित्र सीमित छ। नाम हो पवन कुमाल, उमेर ११ वर्ष शारीरिक र मानसिक अशक्तताका कारण करिब डेढ वर्षदेखि उनी सडक छेउको एउटा फलामे खोरभित्र थुनिएर जीवन बिताइरहेका छन्। बालसुलभ हाँसो, स्कूल जाने रहर, साथीहरूसँग खेल्ने सपना सबै त्यो खोरभित्रै बिलाएका छन्।
रहर होइन, बाध्यता हो यो खोर
पाल्पाको रामपुर नगरपालिका-६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवनकी आमा पुर्नामाया कुमालले त्यो खोर प्रेमले बनाएकी होइनन्, बाध्यताले बनाएकी हुन्। “छोरा दौडँदै सडकमा पुग्छ, दुर्घटनाको डर हुन्छ। मैले खेत जानुपर्छ, काम गर्नुपर्छ। म एक्ली त्यसैले खोरमा राखेर सुरक्षा गरिरहेकी छु,” उनी भक्कानिन्छिन्। फलामे जालीले छोरा सुरक्षित त राख्दो हो, तर त्यो सुरक्षाभित्र कतिपल्ट उनी रोएकी होलिन् । आफ्नो छोरालाई यस्तो अवस्था देखेर।
उपचार प्रयासहरू, अधुरा सपना
पवनको समस्याबारे परिवार सचेत छ। उनी जन्मेदेखि नै शारीरिक कमजोरी लिएर आएका थिए। काभ्रेको बनेपास्थित अपांगता केन्द्रमा उपचार भयो, खुट्टामा केही सुधार आयो। मुटुमा समस्या देखिएपछि गंगालालमा शल्यक्रिया पनि भयो। त्यो रामपुर नगरपालिकाको सघनतामा सम्भव भयो। तर अब आवश्यक छ-मस्तिष्कको शल्यक्रिया। चिकित्सकहरूले सर्जरी नगरे उचित सुधार नहुने बताएका छन्। तर आर्थिक अवस्था..... अस्पताल पुग्ने हैसियत नै छैन। पवनका बाबु आठ वर्षदेखि वैदेशिक रोजगारीमा छन्। तर घरमा जमिन छैन, खेती छैन, बचत छैन, जे-जति भयो, उपचारमै सकियो।
हाँसो, मुस्कानभित्र लुकेको पीडा
पवन बोल्न सक्दैनन्, तर हाँस्न सक्छन्। बाटो हिँड्ने मानिसलाई हेरेर हात हल्लाउँछन्, आफ्नो भाषामा बोल्न खोज्छन्। इशारामा साथी बनाउन खोज्छन्। त्यो बालसुलभ हाउभाउ जोकोहीलाई मन छुन्छ। उनको अनुहारको चमक देख्दा लाग्छ उनी बाँच्न चाहन्छन्, रमाउन चाहन्छन्, हिँड्न, बोल्न चाहन्छन्, लड्न पनि चाहन्छन तर उनि हार्न चाहन्नन् । उनको इच्छा साकार पार्ने स्रोत छैन, सहयोग छैन, साथ छैन।
अब केही गरौंस् सानो सहयोग, ठूलो आशा
पवनको शल्यक्रिया र नियमित उपचारका लागि करिब २ लाख रुपैयाँ बराबरको प्रारम्भिक खर्च लाग्ने अनुमान गरिएको छ। यो रकम उनका लागि ठूलो सपना हो । तर समाज, सरकार, सहयोगी संस्था र दातृ मन भएका व्यक्तिका लागि सानो सहयोग। यदि तपाईंको सानो हातले एक बालकको जीवन बाँच्न सक्नेछ भने, त्योभन्दा ठूलो मानवता के हुन सक्छ?
सहयोग गर्न चाहनुहुन्छ?
पवन कुमालका लागि आर्थिक, उपचारात्मक वा अन्य किसिमका सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न माध्यममार्फत सम्पर्क गर्न वा सहयोग जुटाउन सक्नुहुन्छस्
- पुनमाया कुमाल (आमा), रामपुर नगरपालिका–६, पाल्पा
- स्थानीय पाल्पा सहयोग समूह र नगरपालिकाको समन्वयमा
पवनजस्ता बालकहरू राज्य र समाज दुवैको ध्यान पर्खिरहेका छन्। उनीहरूको जीवन फलामको खोरमा होइन, स्वतन्त्रता, शिक्षा र उपचारको अधिकारसहित बित्नुपर्छ। हामी सबैको सानो प्रयासले पवनलाई पुनः मुस्कुराउने अवसर दिन सक्छ।
आजै सहयोग गरौं-पवनको लागि, मानवताको लागि।