
सङ्खुवासभा, असार १९- खाँदबारी नगरपालिका-३ मानेभञ्ज्याङस्थित पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याइएको छ। करिब तीन करोड ७३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको नयाँ अस्पताल भवन अबदेखि स्थानीय बासिन्दालाई नियमित सेवा प्रदान गर्ने तयारीमा छ।
"एक स्थानीय तह, एक अस्पताल" भन्ने राष्ट्रिय अवधारणालाई आत्मसात गर्दै नगरपालिकाले यो अस्पताल स्थापना गरेको हो। बुधबार एक विशेष समारोहबीच अस्पतालको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल, लगायत स्थानीय जनप्रतिनिधि तथा नागरिकको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री कार्कीले अस्पतालमा आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराउन सक्दो सहयोग गर्ने वाचा गर्नुभएको छ। उहाँले स्थानीय तहबाट यस्तो पहल हुनु सकारात्मक भएको उल्लेख गर्दै प्रदेश तथा केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी नगरप्रमुख थपलियाले आगामी साउन महिनादेखि मेडिकल अधिकृतसहितको स्वास्थ्य जनशक्ति स्थायी रूपमा खटाइने जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय जनताको स्वास्थ्य सेवा पहुँच सहज बनाउने उद्देश्यले नगर अस्पतालको स्थापना गरिएको हो। नगर अस्पताल सञ्चालनमा आएसँगै खाँदबारी नगरपालिका र वरपरका वडाका नागरिकहरूलाई अब आफ्नै नगरमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनेछ। यसअघि स्वास्थ्य चौकीको सीमित संरचना र सेवाका कारण बासिन्दालाई अन्यत्र धाउनुपर्ने बाध्यता थियो।
अस्पतालमा प्रारम्भिक रूपमा प्राथमिक उपचार, प्रसूति सेवा, सामान्य शल्यक्रिया, औषधि वितरण, आपतकालीन सेवा लगायत सेवा प्रवाह गर्ने तयारी भएको नगरपालिकाले जनाएको छ। भविष्यमा सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सकको व्यवस्था पनि गरिने योजना रहेको छ। स्थानीय तहले आफ्नै स्रोत र नेतृत्वमा अस्पताल स्थापना गरी सेवा दिन थालेको यो उदाहरण स्वास्थ्य पहुँचलाई आधारमै बलियो बनाउने कदम हो। यस्तो प्रयासले न केवल नागरिकलाई समयमै उपचारको सुविधा दिन्छ, तर ग्रामीण क्षेत्रको स्वास्थ्य सूचक सुधारमा पनि योगदान दिन सक्ने अपेक्षा गरिएको छ।