Swasthya Awaj
यस बर्ष डेंगी चार महिनासम्म उच्च जोखिम, ६० हजार ईडीसीडीको प्रक्षेपण, रोकथाममा ढिलाइ हुँदा ठूलो क्षति हुने चेतावनी

काठमाडौं, असार १८- देशभर डेंगीको संक्रमण फेरि फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै स्वास्थ्य निकायहरुले सतर्कता अपनाउन आग्रह गरेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आगामी साउनदेखि असोजसम्मको अवधि विशेष जोखिमपूर्ण हुने अनुमान गर्दै तत्काल आवश्यक तयारी गर्न सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएको छ।

महाशाखाका अनुसार हालसम्म डेंगीको प्रकोप न्यून देखिए पनि आगामी केही महिनाभित्र संक्रमितको संख्या उल्लेखनीयरूपमा बढ्न सक्ने आँकलन गरिएको छ। गत वर्ष जस्तै यस वर्ष पनि लामखुट्टेबाट सर्ने यो रोगले ठूलो संख्यामा जनस्वास्थ्यमा असर पार्न सक्ने देखिएको छ।

सन् २०२५ को जनवरीदेखि हालसम्म (असार दोस्रो साता) देशभर १,६७३ जना डेंगी संक्रमितको पुष्टि भइसकेको छ। महाशाखाका अनुसार यो संख्या गत वर्षको तुलनामा कम भए पनि डेंगी संक्रमणको चक्रलाई हेर्दा आगामी महिनाहरूमा यो दर तीव्र गतिमा बढ्ने अनुमान गरिएको हो।

TB

“डेंगीको संक्रमण बरसातको समयमा झनै जोखिमपूर्ण हुन्छ। पानी जम्ने स्थानहरूमा एडिस एजिप्टाई जातको लामखुट्टेले बास बस्ने र संक्रमित व्यक्तिलाई टोक्दा अर्कोमा सार्ने भएकाले समुदाय स्तरमै सचेतना र सक्रियता आवश्यक छ,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. गोकर्ण दाहालले भने।

उनका अनुसार साउनदेखि असोजसम्म डेंगी फैलिन सक्ने उच्च जोखिम भएको र यदी रोकथाम तथा नियन्त्रणमा ढिलाइ गरिएमा संक्रमण संख्या ६० हजारसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।

महाशाखाले देखाएको जोखिमको पछाडि प्रमुख कारणको रूपमा ‘वर्षाको समयसँगै बढेको आद्रता’ र ‘पानी जम्ने स्थानहरूको उपस्थिति’ लाई देखाएको छ। गमला, बाल्टिन, ड्रम, टायर, फूलदानी, प्लास्टिकको झोला वा बोतलजस्ता वस्तुमा पानी जम्दा लामखुट्टे प्रजननको अनुकूल वातावरण बन्ने गर्छ।

त्यस्तै, शहरी क्षेत्रको अनियन्त्रित बस्ती, फोहोरमैला व्यवस्थापनमा कमी, खुला ढल तथा नाली व्यवस्थापनको कमजोरीले पनि संक्रमण फैलन सहज बनाइदिएको विज्ञहरूको निष्कर्ष छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायहरूले स्थानीय तहसँग सहकार्य गरेर व्यापक सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। प्रत्येक घर र टोलस्तरमा ‘पानी नजम्न दिने’ र ‘लामखुट्टे नबास्ने’ वातावरण निर्माणमा समुदायको सहभागिता अपरिहार्य हुने महाशाखाले जनाएको छ।

महाशाखाले “खाली भाँडो उल्ट्याऔँ, डेंगी हटाऔँ” भन्ने नारा दिएर सचेतना अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ। साथै स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवकहरूमार्फत समुदायमा घरघरमै पुगेर सन्देश प्रवाह गर्ने योजना बनाइएको छ।

डेंगीको सामान्य लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, मांसपेशी र हड्डी दुख्ने, बान्ता, रगत बग्ने दाँत गिजामा असर, आँखाको पछाडि दुखाइ, शरीरमा रातो डाम देखिनुजस्ता लक्षणहरू देखिन सक्छन्। यस्तो लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्यकर्मीको सुझाव छ। आफूखुसी औषधि सेवन गर्नु ज्यानमारा बन्न सक्ने हुँदा विशेष सावधानी अपनाउनुपर्ने महाशाखाको आग्रह छ।

डेंगी संक्रमणको जोखिम फेरि बढ्दो क्रममा रहेको र आगामी चार महिना संक्रमण तीव्ररूपमा फैलन सक्ने प्रक्षेपणसँगै राज्यका सबै तह सक्रिय हुन जरुरी देखिएको छ। रोकथामका प्रयास अझ सशक्त नबनाएसम्म डेंगीले फेरि महामारीको रूप लिने खतरा रहेको विज्ञहरूको चेतावनी छ।

सामान्य नागरिकदेखि स्थानीय सरकार, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्थासम्म सबैले मिलेर यो रोग विरुद्ध साझा अभियान सञ्चालन गर्नु नै डेंगी रोकथामको एक मात्र प्रभावकारी उपाय हो।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update