Swasthya Awaj
नेपालका वरिष्ठ क्षयरोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद पन्त डब्लुएचओको दक्षिणपूर्वी एशिया क्षेत्रीय सल्लाहकारमा नियुक्त

काठमाडौँ, असार १८ः नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रका लागि गौरवको विषय बनेको छ । वरिष्ठ क्षयरोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद पन्तलाई विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिणपूर्वी एशिया क्षेत्रीय क्षयरोग प्राविधिक सल्लाहकार समूहको सदस्यमा नियुक्त गरिएको छ। जुलाई १ देखि लागू हुने गरी दिइएको यो दुई वर्षे नियुक्तिलाई नेपाली स्वास्थ्य क्षेत्रमा सकारात्मक ऊर्जा र उत्साहका साथ हेरिएको छ।

यस नियुक्तिपछि डा. पन्तले दक्षिणपूर्वी एशियाली देशहरूमा क्षयरोग (TB) नीतिनिर्माण, कार्यक्रम कार्यान्वयन, रणनीति परिमार्जन, नयाँ अनुसन्धान तथा औषधि प्रविधिमा नीतिगत सल्लाह दिनेछन्।

डा. पन्त विगत चार दशकदेखि स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशील छन्। उनले नेपालको राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम (NTCC) मा लामो समय योगदान दिएका छन्। उनी यस संस्थाको निर्देशक पनि भइसकेका छन्। त्यसबाहेक उनी स्वास्थ्य सेवा विभागका महानिर्देशकका रूपमा समेत कार्यरत रहिसकेका छन्।

TB

नेपाल सरकारका तर्फबाट कार्यक्रम व्यवस्थापन, रोग अनुगमन, र TB-HIV सहसंक्रमण रोकथाम जस्ता रणनीतिक कार्यमा उनले खेलेको नेतृत्व भूमिकाले उनलाई केवल राष्ट्रिय स्तरमा होइन, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा समेत ख्यातिप्राप्त बनाएको छ।

WHO दक्षिणपूर्वी एशिया कार्यालयले ११ सदस्यीय प्राविधिक सल्लाहकार समूह बनाएको हो। यस समूहमा भारत, बंगलादेश, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया, भुटान, माल्दिभ्स, म्यानमार, टिमोर लस्टे र नेपालसहितका मुलुकहरूबाट विज्ञहरूको चयन गरिएको छ।

डा. पन्तको छनोट यस समूहमा नेपालको प्रतिनिधित्व मात्र होइन, क्षयरोग नियन्त्रणमा नेपालको योगदानप्रति अन्तर्राष्ट्रिय निकायले देखाएको विश्वासको संकेत पनि हो।

WHO सँगको यस भूमिकामा डा. पन्तले विशेष गरी निम्न आय भएका देशहरूमा क्षयरोग नियन्त्रण सम्बन्धी कार्यक्रमको कार्यान्वयनमा देखिएको चुनौती, फेलापरेका मोडल र नीतिगत परिवर्तनका विषयमा सल्लाह दिनेछन्।

नेपालको स्वास्थ्य मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र तथा स्वास्थ्यकर्मीहरूको समुदायले डा. पन्तको यो नियुक्तिलाई अत्यन्तै गौरवको रूपमा स्वागत गरेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने, “यो नियुक्तिले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा थप बलियो बनाएको छ। क्षयरोग नियन्त्रणजस्तो दीर्घकालीन विषयमा नेपालको योगदान अब दक्षिण एशिया भरि अझ प्रभावकारी ढंगले फैलिनेछ।”

राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमका निर्देशक डा. श्रीराम तिवारीले भने, “डा. पन्तको अनुभव, कार्यशैली र वैज्ञानिक सोचले यस क्षेत्रका देशहरूलाई थप मार्गदर्शन दिनेछ भन्ने विश्वास हामीलाई छ।”

WHO को तथ्याङ्क अनुसार दक्षिणपूर्वी एशिया विश्वमा क्षयरोगको सबैभन्दा बढी बोझ भएको क्षेत्र हो, जहाँ विश्वका लगभग ४४५ क्षयरोगका केसहरू रिपोर्ट हुने गर्छन्। भारत, इन्डोनेसिया, बंगलादेश जस्ता मुलुकहरूमा क्षयरोग अझै ठूलो चुनौती हो।

नेपाल आफैंमा पनि हरेक वर्ष अनुमानित ६८ हजार नयाँ क्षयरोग संक्रमित थपिने अनुमान गरिएको छ। यद्यपि सरकारी र साझेदार संस्थाहरूको प्रयासले अब हरेक वर्ष करिब ४० हजारभन्दा बढी केसहरू पहिचान हुने गरेका छन्।

यस्तो स्थितिमा नेपालका अनुभवी चिकित्सकले ध्ज्इ सल्लाहकार समूहमा रहेर रणनीति निर्माणमा भूमिका निर्वाह गर्नु भविष्यका लागि टेवा पुग्ने विषय हो।

डा. राजेन्द्रप्रसाद पन्तको यो नियुक्ति केवल एक चिकित्सकको व्यक्तिगत सफलता होइन, यो नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीको अनुभव, निष्ठा र कार्यदक्षताको अन्तर्राष्ट्रिय स्तरमा स्वीकारोक्ति हो।

उनको नेतृत्वबाट न केवल दक्षिण एसियाली देशहरू लाभान्वित हुनेछन्, नेपालले समेत क्षयरोग नियन्त्रणमा नवीन दृष्टिकोण, प्रविधि र अन्तर्राष्ट्रिय सहकार्यको अवसर पाउनेछ।


 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update