
बाँके, असार १७- भारतबाट ल्याइएको कुखुराको मासु सेवनपछि बाँकेको खजुरा गाउँपालिका-४ सिर्जना टोलमा १३ जना बिरामी परेका छन्। स्थानीय एक परिवारमा आयोजित भोजमा सहभागी भई मासु खाएका व्यक्तिहरूमा झाडापखाला, ज्वरो, वान्ता र रिँगटा जस्ता लक्षण देखिएको छ।
वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर रोका क्षेत्रीका अनुसार भोजमा खाएको कुखुराको मासु भारतीय सीमावर्ती बजारबाट ल्याइएको थियो। मासुसँगै खाइएका अन्य परिकार- जस्तै पुलाउ, राजमा, तरकारी, अचार खाएका व्यक्तिमा भने यस्तो लक्षण नदेखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
एफ गाउँस्थित एक घरमा आयोजित भात खुवाइ कार्यक्रममा सहभागी भएका ६ जना र त्यसपछि सोही घरको खाना पोकोमा ल्याएर खाएका थप ७ जनामा बिरामीको लक्षण देखिएको हो। खजुरा–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज गेहेन्द्र जैसीका अनुसार बिरामीमध्ये केही बालबालिका पनि छन्। उनीहरूले भने, "बिरामीमध्ये धेरैलाई सुरूमा झाडापखाला र ज्वरो आएको थियो, अहिले सामान्य अवस्थामा फर्कँदैछन्।" बिरामीहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि खजुरा सिटी अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उपचारपछि केहीलाई डिस्चार्ज गरिसकेको र अन्यको अवस्था पनि सुधारोन्मुख रहेको जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल, वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर रोकाक्षेत्री, वडा नम्बर ५ का अध्यक्ष गरिबे शेख, सामाजिक विकास संयोजक कृष्णकुमारी पोखरेल, वडा सदस्य रितु गिरी, तथा स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीको टोली अस्पतालमा पुगेर बिरामीको अवस्थाबारे जानकारी लिएको थियो। अध्यक्ष विकले घटनाको थप छानबिन गरी यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
स्वास्थ्यकर्मी र स्थानीयबासीले सीमावर्ती क्षेत्रबाट अनुगमनविनै ल्याइने मासु तथा खाद्य वस्तुका कारण यस्ता समस्या देखिने गरेको बताएका छन्। "सस्तो मूल्य र सजिलो पहुँचका कारण भारतीय सीमाबाट मासु ल्याउने चलन बढ्दो छ, तर त्यही मासुले कहिलेकाहीँ स्वास्थ्यमा ठूलो असर पार्छ," इन्चार्ज जैसीले बताए।
खाद्य सुरक्षा र जनस्वास्थ्यप्रति गम्भीर ध्यान नदिँदा यस्ता सानो लापरवाहीले ठूलो जोखिम निम्त्याउन सक्छ। स्थानीय तह, स्वास्थ्य संस्था र उपभोक्ताबीच समन्वय र सतर्कता आवश्यक छ। आगामी दिनमा यस्ता घटनाबाट बच्न मासुको स्रोत, गुणस्तर र तयारी प्रक्रियामा नियमित निगरानी हुन आवश्यक देखिन्छ।