Swasthya Awaj
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया : ४५ प्रतिस्पर्धी, ‘हाम्रा होइन, राम्रालाई छानौं’ भन्ने आवाज बुलन्द

काठमाडौं, असार १६- चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढेसँगै चिकित्सा क्षेत्रमा फेरि एकपटक ठूलो चासो सिर्जना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ १४ गते मन्त्रीस्तरीय निर्णयमार्फत सिफारिस समिति गठन गरी उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरेपछि प्राप्त दरखास्त संख्या र प्रतिस्पर्धीहरूको पृष्ठभूमिले यो नियुक्ति ‘सामान्य प्रशासनिक प्रक्रिया’ भन्दा पनि बढी महत्व बोकेको देखिएको छ ।

४५ प्रतिस्पर्धी मैदानमा, दोहोरो र चतुर्थ आवेदन पनि

चारवटा प्रतिष्ठानका लागि खुलाइएको आवेदनमा कुल ५५ निवेदन परे पनि दोहोरो आवेदकका कारण वास्तविक प्रतिस्पर्धीको संख्या ४५ मात्र रहेको मन्त्रालय स्रोतको भनाइ छ । दुई जनाले चारै प्रतिष्ठानमा दरखास्त दिएका छन् भने अन्य चार जनाले दुई–दुई संस्थामा आवेदन दिएका छन् ।

TB

चारै प्रतिष्ठानमा आवेदन दिनेमा प्रा.डा. विष्णुप्रसाद अधिकारी र डा. लक्ष्मीनारायण सिंह छन् । यस्तै, डा. कालु शर्मा सुवेदी (कर्णाली र पोखरा), प्रा.डा. प्रह्लाद कार्की (पाटन र बीपी), र प्रा.डा. संगीता भण्डारी सिंह (पाटन र बीपी) पनि दोहोरो प्रतिस्पर्धामा छन् ।

सबैभन्दा बढी प्रतिस्पर्धा पोखरामा

विभिन्न प्रतिष्ठानमा परेको आवेदन संख्या हेर्दा सबैभन्दा बढी १७ निवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परेको छ । त्यसपछि कर्णालीमा १५, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३, र पाटनमा १० आवेदन परेका छन् ।

चार उपकुलपति पद रिक्त, प्रक्रिया ढिलो सुरु

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेशनाथ डंगोलको कार्यकाल चैत्र २७ गते सकिएपछि पाटन उपकुलपतिविहीन बनेको हो । त्यसैगरी कर्णालीका उपकुलपति डा. मंगल रावलको कार्यकाल चैत्त २२ मा सकिएको थियो भने बीपी कोइरालाका प्रा.डा. ज्ञानेन्द्र गिरीको कार्यकाल वैशाख २५ मा समाप्त भएको थियो । पोखरामा त विगत तीन वर्षदेखि स्थायी उपकुलपति नियुक्त भएको छैन ।

दुई महिनासम्म नेतृत्वविहीन अवस्थाबाट गुज्रिएका प्रतिष्ठानहरूमा मन्त्रालयले अब मात्र प्रक्रिया अघि बढाएको भन्दै धेरैले ढिलासुस्तीको आलोचना गरेका छन् ।

प्रतिस्पर्धामा चर्चित र विवादित अनुहार

उपकुलपति बन्ने दौडमा देशका अनुभवी प्रशासकदेखि चर्चित विशेषज्ञहरूसम्म छन् । पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेल, पूर्व अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह, चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रमेश कोइराला, बीपी प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, राप्तीका पूर्व उपकुलपति प्रा.डा. संगीता सिंहजस्ता नामहरू प्रतिस्पर्धामा छन् ।

महिला उम्मेदवारमा डा. एलिजा श्रेष्ठ र डा. सिर्जना श्रेष्ठको पनि सहभागिता रहेको छ, यद्यपि कुल ४५ मध्ये ४२ जना पुरुष र ३ जना मात्र महिला उम्मेदवार छन् ।

राजनीतिक हस्तक्षेपको आशंका र ‘योग्यतामूलक’ नियुक्तिको माग

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. जीवन क्षत्री भन्छन्, "उपकुलपति नियुक्तिमा ‘हाम्रा मान्छे’ होइन, योग्य र दूरदृष्टि भएका ‘राम्रा मान्छे’ छनोट हुनुपर्छ ।" उनका अनुसार, चिकित्सा शिक्षा सुधारको मेरुदण्ड उपकुलपति हुनाले यो पदमा नियुक्ति गर्दा गहिरो सोच आवश्यक पर्छ ।

यता, चार प्रतिष्ठानका भागबण्डा कांग्रेस र एमालेबीच मिलाइएको चर्चा सार्वजनिक भएपछि डा. गोविन्द केसीले कडा आपत्ति जनाउँदै नयाँ सत्याग्रहको चेतावनी दिएका छन् । उनले भने, "बीपी प्रतिष्ठानमा पहुँचका आधारमा गरिएको विगतको नियुक्तिले कस्तो संकट निम्त्यायो भन्ने सबैले देखिसकेका छन् ।"

छनोट प्रक्रिया र समयरेखा

स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा गठित सिफारिस समितिले अब दरखास्त मूल्यांकन गर्नेछ । सर्टलिस्ट तयार पारेर प्रत्येक प्रतिष्ठानका लागि तीन–तीन जना उम्मेदवारको नाम मन्त्रिपरिषदसमक्ष पठाइनेछ । सचिव देवकोटा भन्छन्, "समितिले मापदण्डअनुसार योग्यता, अनुभव, अनुसन्धान र कार्ययोजना हेरेर छनोट गर्छ ।"

सही निर्णयको अपेक्षा

स्वास्थ्य प्रतिष्ठानहरूमा स्थायी नेतृत्वको खाँचो विगतदेखि उठ्दै आएको छ । उपकुलपति शिक्षण अस्पतालहरूमा नीति निर्माण, कार्यक्रम कार्यान्वयन र प्रशासनिक दक्षताका लागि प्रमुख व्यक्ति हुन् । सही छनोट भएमा मात्र चिकित्सा शिक्षाको गुणस्तर सुधार र सार्वजनिक स्वास्थ्य सेवाको प्रभावकारिता बढ्ने विज्ञहरूको भनाइ छ ।

यधपी उपकुलपति नियूक्तिमा चारै प्रतिष्ठानलाई नजिकबाट चिनेको र नेतृत्वले प्रतिष्ठानको भबिष्य अगाडी बढ्नेखालको नचय हुनु पर्नेमा सबैको जोड छ । अब समितिको सिफारिसपश्चात मन्त्रिपरिषदले उपकुलपति नियुक्त गर्नेछ । नियुक्ति राजनीतिक भागबण्डाको होइन, योग्यता र दूरदृष्टिको आधारमा हुने हो भने यो प्रतिस्पर्धा नेपाली स्वास्थ्य शिक्षामा ‘सुधारको ढोका’ खुलाउने अवसर बन्न सक्छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update