Swasthya Awaj
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार, ग्यास्ट्रोसम्बन्धी समस्या भएको आशंका

काठमाडौँ, असार १६- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको वीर अस्पतालले जनाएको छ। केही दिनअघि ज्वरो, वान्ता र पखालाजस्ता लक्षण देखिएपछि उनलाई शुक्रबार साँझ वीर अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्री पौडेलको अवस्था सामान्य बन्दै गएको उल्लेख गरिएको छ। यद्यपि, भर्ना भएको तेस्रो दिनसम्म पनि अस्पतालले उनको स्वास्थ्य समस्या के हो भन्ने स्पष्ट खुलाएको छैन।

TB

विश्वस्त स्रोतका अनुसार, चिकित्सक टोलीले मन्त्री पौडेललाई ग्यास्ट्रोइन्टेस्टाइनल (पेट तथा आन्द्रासम्बन्धी) समस्या भएको निष्कर्षमा पुगेका छन्। वीर अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा बनेको विशेष चिकित्सक टोलीमा प्रा.डा. मीनचन्द्र अधिकारी, डा. ध्रुव गैरे, डा. अनिल बराल, डा. रविराम श्रेष्ठ, डा. मुकेश शर्मा लगायत विशेषज्ञहरू संलग्न छन्।

चिकित्सक टोलीका अनुसार मन्त्री पौडेललाई ज्वरो, एक–दुईपटक पातलो दिसा, वान्ता हुने समस्या देखिएको थियो। ती लक्षणहरूमा अहिले सुधार आएको जनाइएको छ। उनको उपचार अस्पतालको विशेष (VVIP) क्याबिनमा भईरहेको छ।

स्वास्थ्यमा समस्या देखिएपछि विदेश भ्रमणबाट फर्किएका मन्त्री पौडेललाई शुक्रवार बेलुकी अस्पताल लगिएको थियो। केही समयदेखि ज्वरो आउने समस्या दोहोरिएको र यसैको बीचमा उनी थाइल्याण्डको बैंककमा आयोजित मन्त्रीस्तरीय कार्यक्रममा सहभागी भएर शुक्रबार बिहानमात्रै स्वदेश फर्किएका थिए।

हाल मन्त्री पौडेलको अवस्था स्थिर रहेको र थप परीक्षण तथा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ। स्वास्थ्य मन्त्रालय र अस्पताल स्रोतका अनुसार निकट भविष्यमै मन्त्री पौडेल स्वास्थ्यलाभ गरेर जिम्मेवारीमा फर्कने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update