Swasthya Awaj
प्रादेशिक अस्पताल सिराहमा बालकको मृत्युपछि तनाव, आफन्त र गाउँले प्रदर्शनमा, सुरक्षा व्यवस्था कडा

सिराह, असार १५- सिरहा नगरपालिका ६ का १२ वर्षीय बालक राजन रामको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहमा मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। बालकको मृत्युपछि उनका आफन्त र गाउँलेहरूले अस्पतालमा प्रदर्शन गर्दै केही समयका लागि मुख्य सडक अवरुद्ध गरेका थिए। अस्पतालमा चिकित्सकको लापरवाहीको आरोप लगाउँदै आक्रोशित भएका प्रदर्शनकारीहरू र सुरक्षाकर्मीबीच केही बेर तनावपूर्ण स्थिति पनि देखिएको छ।

बालक राजन रामलाई आज बिहान साढे १० बजे घरमा बेहोश भएको अवस्थामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पतालका डाक्टर सुदेशकुमार यादवले प्राथमिक स्वास्थ्य परीक्षण गरेपछि बालकको शरीरमा अत्यधिक रगतको कमी भएको पत्ता लगाएका थिए। तत्काल रगत चढाउन सुझाए पनि अस्पतालभित्र रहेको ब्लड बैंकमा आवश्यक रगतको अभाव रहेको अस्पताल स्रोतले पुष्टि गरेको छ।

ब्लड अभावकै कारण बालकको उपचार समयमा गर्न नसकिएको र त्यसकै कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। मृतकका परिवारले अस्पताल प्रशासनमाथि चरम लापरवाही गरेको आरोप लगाएका छन्।

TB

बालकको मृत्युपछि उनका आफन्त र स्थानीयवासीहरूले अस्पतालको सेवा व्यवस्थापन र चिकित्सकहरूको लापरवाहीका विरुद्ध विरोध जनाउँदै अस्पताल अगाडि प्रदर्शन शुरू गरे। प्रदर्शनकारीहरूले मुख्य सडकमा जाम लगाएर आवागमनमा बाधा पुर्‍याएका थिए। केही समयपछि प्रदर्शनमा संलग्न केही व्यक्तिले अस्पतालमा तोडफोडको प्रयास गर्दा सुरक्षा निकायलाई हस्तक्षेप गर्नुपर्ने अवस्था आयो।

प्रदर्शन र तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अस्पताल परिसरमा सुरक्षा कडा गरेको छ। अहिले अस्पताल परिसरमा तनाव भने पनि केही हदसम्म नियन्त्रणमा आएको जनाइएको छ।

वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले अस्पताल प्रशासन र चिकित्सकहरूको लापरवाहीले बालकको मृत्यु भएको भन्दै कडा आलोचना गरे। उनले भने,
“हामीले पटकपटक अस्पतालको सेवा सुधार्न ध्यानाकर्षण गराएका थियौं, तर कुनै सुनुवाइ भएन। अस्पतालको यस्तो लापरवाहीले आज एक बालकको ज्यान गयो, यसको जिम्मेवारी अस्पतालले लिनुपर्छ।” उनले आगामी दिनमा घटनाको गम्भीर छानबिन गर्न प्रशासनसँग माग समेत गरेका छन्।

बालक राजन रामकी आमा सुनिता महरा अस्पताल परिसरमै आत्तिएको अवस्था छिन्। उनको स्वास्थ्य पनि नराम्रो रहेको छ र उनलाई प्राथमिक स्वास्थ्य उपचार दिइएको छ। परिवारका अनुसार, उनी मानसिक रूपमा स्तब्ध र सदमेमा परेकी छिन्।

अस्पतालका एक कर्मचारीले भने, “हामीलाई रगत अभाव भएको जानकारी छ, र यसको समाधानको लागि ब्लड बैंकसँग समन्वय गरिरहेका छौं। यो घटनामा हामी गम्भीर छौं र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नेछौं।”
तर अहिलेसम्म अस्पताल प्रशासनले सार्वजनिक रूपमा औपचारिक क्षमा याचना वा विस्तृत विवरण सार्वजनिक गरेको छैन।

सिराहमा स्वास्थ्य सेवा प्रणालीमा रगत अभाव लगायत आधारभूत व्यवस्थापन समस्याहरू यस घटनाले पुनः उजागर गरेको छ। रक्त आपूर्तिको कमीले आपतकालिन अवस्थामा बिरामीको जीवन संकटमा पर्न सक्ने देखिन्छ। साथै अस्पतालका कर्मचारी र प्रशासनमाथि चिकित्सकीय लापरवाहीका आरोपले स्वास्थ्य क्षेत्रप्रति जनविश्वास कमजोर हुने खतरा पनि बढेको छ।

अस्पताल प्रशासन र सरकारबाट समस्या समाधानका लागि तत्काल प्रभावकारी रणनीति अपनाउनुपर्नेमा स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्। आगामी दिनमा यस्ता घटनाले नदोहो-रियोस् भनेर स्वास्थ्य सेवा प्रणालीमा सुधार आवश्यक देखिएको छ।

१२ वर्षीय बालकको अकाल मृत्युपछि प्रादेशिक अस्पताल सिराहमा देखिएको तनावले स्वास्थ्य सेवा व्यवस्थापनमा सुधारको आवश्यकतालाई पुनः बल पुर्‍याएको छ। बिरामी सुरक्षा र आधारभूत स्रोत व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याएको यस घटनाले व्यापक सामाजिक ध्यानाकर्षण पाएको छ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update