काठमाडौँ, असार १५- छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फेरि फैलन थालेसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। यस्तो अवस्थामा राजधानीको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ विरुद्धको फाइजर खोप निःशुल्क रूपमा निरन्तर उपलब्ध गराइरहेको छ।
संक्रमणको दर कम हुँदै गएको समयमा केही महिनाअघि खोप लिनेको संख्या न्यून हुँदै गएको थियो। तर पछिल्लो समय भारतमा संक्रमण पुनः तीव्र बनेको, बिराटनगरमा एक महिलाको कोभिडकै कारण मृत्यु भएको र टेकु अस्पतालमा दुई जना संक्रमित बिरामी केही दिन भर्ना भएर डिस्चार्ज भएको घटनापछि खोप लिनेको संख्या फेरी बढ्न थालेको छ।
खोप लिनेको सङ्ख्या जेठमा झण्डै पाँचगुना बढ्यो
शहीद शुक्रराज अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार, “पछिल्लो समय खोप लिनेको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। अघिल्लो महिनामा करिब ५०–६० जना मात्र खोप लिन आउँथे, तर जेठ महिनामा यो संख्या २६३ पुगेको छ।”
उनले हालैको ट्रेन्डलाई हेर्दा असार महिनामा पनि खोप लिनेको संख्या अझै बढ्ने अनुमान गरेका छन्। उनका अनुसार, अहिले खोप लगाउन आउनेमध्ये धेरैजसो बुस्टर डोजको लागि आउने गरेका छन् भने थोरै संख्यामा नयाँ खोप लिने पनि छन्।
जोखिम समूहलाई विशेष ध्यान
डा. बसौलाले विशेषगरी वृद्ध, दीर्घरोगी, तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई समयमै बुस्टर डोज लिन आग्रह गरेका छन्। उनका अनुसार कोभिड–१९ को नयाँ भेरियन्टले यस्ता व्यक्तिहरूमा गम्भीर असर पार्न सक्ने भएकाले खोपबाट सुरक्षा लिन आवश्यक छ।
“जसको शरीरमा रोग प्रतिरोधी क्षमता कमजोर छ, उनीहरूलाई संक्रमणले छिट्टै गम्भीर बनाउँछ,” उनले भने, “त्यसैले जोखिम समूहका व्यक्तिहरूले ढिलाइ नगरी बुस्टर डोज लिनुपर्छ।”
अस्पतालमा नियमित खोप सेवा
टेकु अस्पतालले दैनिक रूपमा कोभिड–१९ विरुद्धको खोप सेवा दिँदै आएको छ। अस्पतालको ओपिडी ब्लकभित्र सञ्चालित खोप केन्द्रमा आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप लगाइन्छ। इच्छुक सेवाग्राहीले नागरिकता वा परिचय खुल्ने कुनै पनि कागजातसहित सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
खोप लगाउने अघि प्राथमिक जाँच गरी आवश्यक परे सल्लाह लिने सुविधा पनि खोप केन्द्रमै उपलब्ध छ। विशेषगरी दीर्घरोगी वा जटिल अवस्थाका व्यक्तिलाई चिकित्सकीय परामर्शसहित खोप दिइने अस्पतालले जनाएको छ।
फाइजर बुस्टर डोजमा प्राथमिकता
हाल टेकु अस्पतालमा फाइजर खोप उपलब्ध रहेको छ, जसमा बुस्टर डोजका लागि बढी माग देखिएको छ। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अन्य खोप (जस्तै, सिनोफार्म वा अन्य मिक्स डोज) को पनि उपलब्धताका लागि तयारी भइरहेको डा. बसौलाले जानकारी दिए।
अस्पतालले भविष्यमा अद्यावधिक गरिएको (Updated) ओमिक्रोन अनुकूल mRNA खोप ल्याउने तयारी पनि गरिरहेको छ, जसका लागि मन्त्रालयमा प्रस्ताव पठाइएको छ।
विशेषज्ञको सुझाव: खोप र सतर्कता दुवै आवश्यक
स्वास्थ्य विशेषज्ञहरूले पुनः संक्रमण फैलिन नदिनका लागि खोपसँगै सतर्कता पनि अपनाउनुपर्ने सुझाव दिएका छन्।सार्वजनिक स्वास्थ्य विज्ञ डा. महेश काफ्लेका अनुसार, “संक्रमणको दर कम हुँदै गएको अवस्थामा सतर्कता घटाउनु स्वाभाविक हो। तर भेरियन्टको प्रकृति बदलिँदा कहिले पुनः संक्रमण वृद्धि हुन्छ भन्ने पूर्वानुमान गर्न कठिन हुन्छ।”
उनका अनुसार मास्कको प्रयोग, भीडभाड न्यूनीकरण, नियमित हात धुने बानी, र खोप लिने बानीले मात्र हामी सम्भावित महामारीबाट सुरक्षित रहन सक्छौं।
कोभिड–१९ संक्रमण पुनः देखिन थालेको सन्दर्भमा टेकु अस्पतालले निरन्तर खोप सेवा दिइरहनु स्वास्थ्य सुरक्षा रणनीतिमा सकारात्मक अभ्यास बनेको छ। खोप लिनेको संख्या बढ्नु स्वास्थ्य चेतनाको सकारात्मक संकेत भए पनि जोखिम समूहका व्यक्तिहरूको सक्रियता अझै बढाउनुपर्ने आवश्यकता देखिन्छ।
स्वास्थ्य मन्त्रालय र अस्पताल प्रशासनले संक्रमण पुनः चुलिन नदिन खोप, सतर्कता र जनचेतनाको त्रिवेणी प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। साथै, खोप सुलभ र सुलभतामा अझै ध्यान दिनु आवश्यक रहेको जनस्वास्थ्यकर्मीहरूले बताएका छन्।




