
काठमाडौँ, असार १४— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षमा खर्च नभएको अनुदान रकम सम्बन्धित सबै निकायलाई फिर्ता गर्न कडा निर्देशन दिएको छ। मन्त्रालयले अस्पताल, प्रतिष्ठान, समिति, बोर्ड, परिषद् र केन्द्रहरूलाई निःशर्त बाहेकका अनुदान रकम खर्च नभएमा तत्काल सरकारलाई फिर्ता पठाउन आग्रह गरेको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी नियमावलीको नियम ७९ को उपनियम ३ अनुसार खर्च नभएको अनुदान रकम फिर्ता गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ।
मन्त्रालयका लेखा उपसचिव गोपी चन्द्र भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ कि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चालु आव २०८१/८२ मा निकासा भइसकेका तर खर्च नभएका रकम सम्बन्धित कार्यालयसँग समन्वय गरी सोही आर्थिक वर्षभित्रै सरकारलाई फिर्ता पठाउनुपर्नेछ।
यस निर्देशनले अनुदान रकमको पारदर्शिता र प्रभावकारी व्यवस्थापनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। मन्त्रालयले अनुदान रकमको सदुपयोग सुनिश्चित गर्न यस कदम आवश्यक रहेको बताएको छ।