Swasthya Awaj
राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्य प्रणालीमा जोड

काठमाडौं, असार १३– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डको बैंककमा सम्पन्न राष्ट्रसंघीय एशिया–प्रशान्त क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्दै डिजिटल स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि र आगामी योजनाबारे जानकारी दिएका छन्।

मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक धेरै ठाउँमा फैलिएको र एकीकृत नभएको समस्या औंल्याउँदै यसलाई एकै ठाउँमा जोड्न नेपालले नीतिगत निर्णय गरी सुधारको प्रयास थालिसकेको बताएका छन्। उनले भने, “नागरिक परिचयपत्रमा जनसंख्यासम्बन्धी विवरण आबद्ध भइसकेको छ र अब स्वास्थ्यसम्बन्धी तथ्यांक पनि यसमा जोड्ने काम भइरहेछ।”

उनले थपे, “एकीकृत तथ्यांकको अभावले नीति निर्माणमा समस्या ल्याएको थियो, अब अन्तरमन्त्रालयीय समन्वयलाई अझ बलियो बनाउँदै डिजिटल स्वास्थ्य सुधार अघि बढाउने छौं।”

बैठकमा राष्ट्रसंघका लागि एशिया–प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँग भएको कुराकानीमा मन्त्री पौडेलले डिजिटल प्रणालीमा देखिएका प्राविधिक चुनौतीहरूलाई समाधान गर्न संस्थागत सहकार्यको अपेक्षा रहेको बताए।

नेपालले जन्म, मृत्यु लगायतका घटना दर्ता प्रणालीलाई समावेसी र प्रभावकारी बनाउँदै डिजिटल माध्यमबाट सञ्चालित गर्ने द्रुत लक्ष्य राखेर काम गरिरहेको मन्त्री पौडेलले बताए। उनले क्षेत्रीय गोलमेच बैठकमा पनि यस विषयमा जोड दिएका थिए।

नेपाल प्रतिनिधिमण्डलका सहसचिव ढुण्डीराज निरौलाले पनि नेपालले अघि बढाइरहेका प्रयासप्रति क्षेत्रीय देशहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए। उनी भन्छन्, “छिट्टै आउने जनसंख्या नीति डिजिटल प्रणालीसँग जोडिने भएकाले यसले स्वास्थ्य क्षेत्रको सुधारमा थप मद्दत गर्नेछ।”

यो पहलले नेपालमा डिजिटल स्वास्थ्य सेवा र तथ्यांक व्यवस्थापनमा ठूलो प्रगति ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update