Swasthya Awaj
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश

काठमाडौं, असार १३– उपभोक्ता हित संरक्षण अदालत, काठमाडौंले राजधानीको गंगबुस्थित हिमाल अस्पताल र बालरोग विशेषज्ञ डा. जयदेव यादवलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ। अदालतले चिकित्सकीय लापरवाहीका कारण दुई वर्षीया बालिकाको मृत्यु भएको ठहर गर्दै अस्पताल र चिकित्सकलाई संयुक्तरूपमा क्षतिपूर्ति तिराउन आदेश दिएको हो।

२०७९ साल माघ २३ गते सुतलीले बाँधेको कारण पेटमा समस्या देखिएपछि बालिका प्रशंसा गौतमलाई उपचारका लागि हिमाल अस्पताल लगिएको थियो। तर, आवश्यक समयमै उचित उपचार नगरिएको र चिकित्सकीय लापरवाहीका कारण उनको अवस्था झन् गम्भीर बन्दै गएको परिवारको दाबी थियो। सोही दिन राति करिब ८ बजे बालिकाको मृत्यु भएको थियो।

बालिकाकी आमाले अस्पताल र चिकित्सकको लापरवाहीका विरुद्ध उजुरी दिएकी थिइन्। यसअघि नेपाल मेडिकल काउन्सिलले समेत डा. यादवलाई चिकित्सकीय लापरवाही गरेको ठहर गर्दै सचेत गराउने निर्णय गरिसकेको थियो।

अदालतले अस्पताल र चिकित्सक दुवैको जिम्मेवारी ठहर गर्दै अस्पतालले १ करोड १ लाख ८० हजार रुपैयाँ (७० प्रतिशत) र डा. यादवले ४३ लाख ६३ हजार रुपैयाँ (३० प्रतिशत) क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो।

अस्पताल पक्षले भने उपभोक्ता अदालतको यो निर्णयप्रति असहमति जनाउँदै उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरिरहेको जनाएको छ।

यो फैसला उपभोक्ताको अधिकार र स्वास्थ्य सेवा प्रदायकको उत्तरदायित्वबारे स्पष्ट सन्देश दिने निर्णयका रूपमा लिइएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update