Swasthya Awaj
क्यान्सरका बिरामीका लागि हटलाइन फोन सेवा, चौबिसै घण्टा सहयोग उपलब्ध

चितवन, असार १२– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सर रोगसँग जुधिरहेका बिरामीहरूलाई लक्षित गर्दै चौबिसै घण्टा सञ्चालन हुने हटलाइन फोन सेवा सुरु गरेको छ। यो सेवा विशेष गरी उपचारकै क्रममा घर फर्किएका बिरामी तथा नयाँ पहिचान भएका बिरामीका लागि उपयोगी हुने अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साहका अनुसार बिरामीले उपचारको एक चरण पूरा गरी घर फर्किएपछि देखा पर्न सक्ने जटिलता, असर वा अन्य समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको हो। बिरामी वा उनका आफन्तहरूले ९८५५०८१५०१ नम्बरमा फोन गरेर चौबीसै घण्टा चिकित्सकहरूसँग सल्लाह लिन सक्नेछन्। यस नम्बरमा केवल क्यान्सर उपचारसँग सम्बन्धित जटिलता, शंका वा निर्देशनको लागि मात्र सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। अस्पतालको अन्य सेवा वा प्रशासनिक गुनासोका लागि यो नम्बर प्रयोग नगर्न आग्रह गरिएको छ।

क्यान्सर अस्पतालसम्म पुग्न कठिन हुने स्थानमा रहेका बिरामीहरूका लागि यो सेवा विशेष उपयोगी हुने अपेक्षा गरिएको छ। ननक्यान्सर अस्पतालमा रहेका चिकित्सकहरूले पनि आवश्यक परेमा फोनमार्फत बिरामीको अवस्थाबारे सल्लाह लिन सक्नेछन्, जसले प्रारम्भिक उपचार र सही सन्दर्भ ९रिफर० प्रक्रिया सहज बनाउनेछ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार हटलाइनमा ‘एक्युट अङ्कोलोजी’ तालिम प्राप्त चिकित्सक र नर्सहरू खटाइएका छन्। बिरामीका रिपोर्ट वा लक्षणका आधारमा तत्काल गर्नुपर्ने उपचार, आवश्यक परेमा रिफर प्रक्रिया तथा दीर्घकालीन उपचार रणनीतिबारे सल्लाह दिन सकिने उनले बताए।

देशका दूरदराज क्षेत्रका क्यान्सर बिरामीहरूको पहुँचमा विशेषज्ञको सल्लाह पुर्याउने उद्देश्यले सुरु गरिएको यो हटलाइन सेवा एक सकारात्मक प्रयास हो। यसले उपचार प्रक्रिया थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update