
काठमाण्डौ, असार १२– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निकट भविष्यमा ठूलो हेरफेर हुने संकेत देखिएको छ। स्रोतका अनुसार मन्त्री स्तरदेखि उच्च प्रशासनिक पदसम्म व्यापक परिवर्तनको तयारी थालिएको छ। विश्वस्त स्रोतले दिएको जानकारीअनुसार हाल नेकपा माओवादी केन्द्रका नेता जीवन परियारलाई स्वास्थ्य मन्त्रालयको मन्त्री बनाउने सम्भावना बलियो बनेको छ। सत्ता साझेदारीको समीकरण अनुसार परियारको नाम प्राथमिक रूपमा अगाडि आएको बताइएको छ। दलगत र सामाजिक समावेशिताको सन्तुलन मिलाउने उद्देश्यले माओवादी नेतृत्वले परियारको नाम अगाडि सारेको स्रोतले जनाएको छ।
त्यस्तै, मन्त्रालयको प्रशासनिक नेतृत्वमा पनि ठूलो फेरबदलको सम्भावना देखिएको छ। हालै स्वास्थ्य सेवा विभागमा विभिन्न तहमा गरिएको मूल्याङ्कनको आधारमा केशरबहादुर ढकाललाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाउने सम्भावना प्रबल देखिएको छ। लामो समयदेखि मन्त्रालयको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यदक्षता र अनुभवका कारण उनको नाम माथि पुग्न सफल भएको बुझिएको छ।
स्वास्थ्य मन्त्रालयको नेतृत्वमा यस्तो परिवर्तनले देशभर स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ। मन्त्री र महानिर्देशक दुवै पदमा नयाँ अनुहार आएमा नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म नयाँ दृष्टिकोण र ताजगी ल्याउने विश्वास गरिएको छ।
यद्यपि, यसबारेमा कुनै आधिकारिक घोषणा भइसकेको छैन। पार्टी र सरकार भित्रको अन्तिम निर्णयपछि मात्र यो विषयमा स्पष्टता आउनेछ।