Swasthya Awaj
विश्वमै पहिलो पटक मान्छेमा सुँगुरको मिर्गाैला प्रत्यारोपण

विश्वमै पहिलो पटक मानिसमा सुँगुरको मिर्गाैला प्रत्यारोपण गरिएको छ । अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित म्यासाचुसेट्स जनरल अस्पतालका  चिकित्सकले सुँगुरबाट मिर्गाैला जीवित मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका हुन् । सिएनएनमा प्रकाशित खबरअनुसार ६२ वर्षीय वृद्धमा आनुवंशिक रूपमा परिमार्जित मिर्गाैला प्रत्यारोपण गरिएको हो । 

म्यासाचुसेट्सको वेमाउथ निवासी रिक स्लेम्यानको मिर्गाैला पूर्ण रुपमा फेल भएको थियो । 

अस्पतालले उपलब्ध गराएको बिरामीको लिखित वक्तव्यअनुसार स्लेम्यान ११ वर्षअगाडि देखि मिर्गाैलाका बिरामी थिए । उच्च रक्तचाप र मधुमेहका कारण उनको मिर्गाैला फेल भएको थियो । उनको यो पहिलो मिर्गाैला प्रत्यारोपण होइन । यसअघि स्लेम्यानले सन २०१८ मा मानिसबाटै लिएको मिर्गाैला प्रत्यारोपण गराएका थिए । प्रत्यारोपण गरिएको उक्त मिर्गाैलाले गतसालबाट काम गर्न छाड्यो । २०२३ बाट उनले डायलासिस गराउँदै आएका थिए । 

दोस्रो पटक मिर्गाैला फेल भएको पुष्टि भएपछि उनलाई चिकित्सकले सुँगुरको मिर्गाैला प्रत्यारोपण गर्न सिफारिस गरेका थिए । 

'चिकित्सकले देखाएको यो बाटो मेरो सहयोगका लागि मात्रै हो भन्ने मैले महसुस गरिनँ’ लिखित बयानमा स्लेम्यानले भनेका छन्, ‘जीवत रहनका लागि प्रत्यारोपण आवश्यक भएका हजारौँ व्यक्तिका लागि नयाँ आशा दिनका लागि यो बाटो हो भन्ने मैले देखेँ।’

प्रत्यारोपण गरिएको सुँघुको मिर्गाैलाको आकार ठ्याक्कै मान्छेकै जत्रो रहेको प्रत्यारोपणमा संलग्न चिकित्सक डा.तात्सुओ कावाईले बताए। 

‘जब चिकित्सकले मिर्गाैला राखे, त्यसले तुरुन्तै काम गर्न थाल्यो, पिसाब बनाउन थाल्यो, अप्रेसन कक्षमा रहेका सबैले ताली बजाए’ कावाईले प्रेस ब्रिफिङमा सुनाए, ‘यो मैले अहिलेसम्म देखेकोमध्ये एकदमै सुन्दर मिर्गाैला थियो।’

स्लेम्यानको स्वास्थ्यमा सुधार भइरहेको र छिट्टै अस्पतालबाट डिस्चार्ज हुने विश्वास रहेको बिहीबार पत्रकार सम्मेलनमा डा.कावाईले बताए। 

जीवित मानिसमा सुँगुरको अंग प्रत्यारोपण गरिएको यो तेस्रो घटना हो । यसअघि दुई जनामा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update