काठमाण्डौः वरिष्ठ मुटु शल्यचिकित्सक डा. कोइरालाको नेतृत्वमा काठमाण्डौ सहित देशका सात वटै प्रदेशमा बन्ने बाल अस्पतालका लागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले शुक्रबार हेपाली हाइटमा रहेको किओचको कार्यालय र कार्यालय परिसरमा बनिरहेको अस्पताल क्षेत्रमा पुगेर ४१ करोड सहयोग गर्ने घोषणा गरेका हुन्।
काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गत अस्पतालहरु बन्न लागेका अस्पताल निर्माणको काम भइरहेको क्षेत्र देखाउँदै डा. कोइरालाले काठमाण्डौ र काठमामाण्डौ बाहिर भइरहेको कामका विषयमा गुरुङलाई जानकारी दिएका थिए। उक्त जानकारी सुनेपछि गुरुङले सहयोग घोषणा गरेका हुन्।
डा. कोइरालाले गुरुङलाई धन्यवाद दिँदै यो रकमले ठूलै उपलब्धि हासिल हुने प्रतिक्रिया दिए। गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको किओचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ। दमकमा १ वर्षअघि देखि सेवा सुरु भइसकेको छ। किओचले राजधानी काठमाडौंमा १ सय शय्याको अस्पताल निर्माण गर्नेछ। त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिए।




