Swasthya Awaj
स्वास्थ्यको कारण देखाई अस्पताल बस्ने ठुला अभियोग लागेकाको बारेमा नेपाल मेडिकल काउन्सिलले दियो प्रहरीलाई यस्तो राय

काठमाण्डौः नेपालमा पछिल्ला केहि बर्ष देखि ठूला ठूला अभियोग लागेका पहुँचवाला व्यक्तिहरु छानविनका लागि प्रहरी नियन्त्रणमा आउनासाथ स्वास्थ्यको कारण देखाई अस्पताल जाने गरेका छन् । उनीहरु अस्पतालको सुविधा सम्पन्न क्याविनमा बसेर मुद्धा लड्ने र कतिपय त्यहिबाट केश नै ‘ढिसमिस’ बनाउन सक्रिय हुने गरेका छन् ।

प्रहरीले पनि नियन्त्रणमा लिएको पहुँचवाला व्यक्तिको अभियोग बारे राम्ररी छानविन नै गर्न नपाईने अवस्थाबाट हैरान भएको अबस्था रहेको छ ।  सोही विषयमा केन्द्रीत रहेर नेपाल प्रहरीले गत चैत्र १४ मा नेपाल मेडिकल काउन्सिललाई पत्र पठाई राय माग गरेको थियो ।

प्रहरीको नियन्त्रणमा रहेको व्यक्तिलाई चिकित्सकीय सहायता उपलव्ध गराउने हालको कानुनी प्रबन्ध र अभ्यासलाई बस्तुगत तथ्यपूर्ण र विश्वसनीय बनाउन भन्दै काउन्सिलसंग राय मागेको थियो । काउन्सिलले त्यस विषयको राय प्रहरीलाई पठाएको छ ।

स्रोतका अनुसार काउन्सिलले प्रहरीलाई धेरै बुदामा राय दिएको छ तर त्यस मध्ये दुईवटा राय मुख्य मानिएको छ ।

‘पक्राउ परेका व्यक्तिले स्वास्थ्य अवस्थामा असहजता महसुस गरेमा, दीर्घ रोगी भएमा, अथवा व्यक्तिको अवस्था एकदमै कमजोर देखिएमा पनि अस्पताल त लैजानै पर्न सक्छ । तर अस्पताल लैजाँदा अहिले जस्तो व्यक्तिले रोजे अनुसारको होईन सकेसम्म सरकारी अस्पताल लैजानु राम्रो हुन्छ,’ भनेर भनिएको छ ।

यस्तै ‘अस्पतालमा लामो समय व्यथित गर्‍यो भने त्यहाँ बिताएको समय कैद अवधीमा गणना नगर्न सकिने,’ भनेर पनि सुझाव दिएको छ ।

काउन्सिलले राय सहितको प्रतिवेदन उपलव्ध गराउन सदस्य डा. विश्वराज दवाडीको संयोजकत्वमा गत चैत्र १९ मा विज्ञ समिति गठन गरेको थियो । सोही समितिले तयार पारेको राय प्रहरीलाई बुझाएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update