Swasthya Awaj
बाँके जिल्लामा चालु आ.ब.को नौ महिनामा १२ जना सुत्केरीको मृत्यू, जनचेतनामा ध्यान दिन बिज्ञको सुझाव

बाँकेः स्वास्थ्य कार्यालय बाँकेका अनुसार आर्थिक बर्ष २०८०।०८१ को नौ महिनामा बाँके जिल्लामा १२ जना सुत्केरीको मृत्यू भएको छ । मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न नगरपालिका।गाउँपालिकाका छन् ।

बाँके जिल्ला स्वास्थ्य क्षेत्रमा सुबिधा सम्पन्न भएको जिल्ला भएता पनि यति धेरै सुत्केरीको मृत्यु मृत्यू हुनुलाई गम्भिर रुपमा लिई यसको न्यूनिकरणमा ध्यान दिनु पर्नेमा बिज्ञले सुझाव दिएका छन । 

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन विष्णु श्रेष्ठका अनुसार घर नजिकै ठूलाठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ । उनले पहिला सुत्केरी हुनु अघि मृत्यु हुने गरेको थियो अहिले भने सुत्केरी भइसकेपछि मृत्यु भइरहेको पाइएको बताएका छन।

फोकल पर्सन श्रेष्ठले भने “बच्चा पाएको ४२ दिन सम्मलाई सुत्केरी मानिन्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको छ ।” स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अधिकांश गर्भवतीले ८ पटक गर्भ जाँच पनि नगरेको देखिएको छ । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौँमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिज्ञका अनुसार सुबिधा सम्मपन्न शहर भए पनि जनचेतनाको कमि, अन्धबिश्वास, अशिक्षा र गरिबिका कारणले महिला स्वास्थ्यको बारेमा कसैको ध्यान नगएको र नेपाल सरकारले बिशेष जनचेतनाका कार्यक्रमहरु अगाडी बढाउनु पर्नेमा जोड दिएका छन । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update