Swasthya Awaj
क्यान्सर बढ्नुको प्रमुख कारण मध्ये तरकारी तथा फलफूलमा भएको विषादी बिज्ञको निचोड

काठमाण्डौः भारतको बेंग्लोरमा रहेको एचसीजी ग्रुप हस्पिटल्सका हेड एण्ड नेक विभागका प्रमुख सर्जिकल अंकोलोजिस्ट डा. विशाल रावले तरकारी तथा फलफुलमा छर्किने अत्यधिक विषादीका कारण दिन प्रतिदिन क्यान्सर बढेको बताएका छन् । शनिबार काठमाडौंमा गरिएको एक कार्यक्रममा बोल्दै उनले नेपाल भारत लगायतका देशमा सुर्तीजन्य पदार्थ तथा मद्यपानको सेवन गर्ने बानी नभएका तथा स्वस्थ जीवनशैली अपनाउनेमा पनि क्यान्सर बढ्नुको प्रमुख कारण मध्ये तरकारी तथा फलफूलमा भएको विषादी रहेको जनाएका हुन् । उनले भने, ‘हामीले खाने खानेकुरा खेतदेखि प्लेटसम्म आइपुग्दा पनि स्वस्थ हुन जरुरी हुन्छ तर त्यही हामी चुकिरहेका छौं ।’

उनले तुरुन्त धेरै आम्दानी गर्ने लोभमा किसान तथा व्यापारीहरुले खेतबारीमा हाल्ने विषादीले क्यान्सर बढाएको दावी गरे । डा. रावले उनीहरुलाई विषादीले मानव स्वास्थ्यमा पारेको असरबारे चेतना जगाउनु पर्ने बताए। डा. रावले  त्यसका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै उनले नेपाल र भारत दुबै देशका स्वास्थ्य पत्रकारहरुले विषादीले स्वास्थ्यमा पारिरहेको प्रतिकूल असरका विषयमा जनचेतना बिस्तार गर्नु पर्नेमा जोड दिए ।

अहिले नसर्ने रोग र त्यसमा पनि क्यान्सरको केश व्यापक रुपमा बढेको भन्दै यसलाई न्युनिकरणका लागि ठोस कदम चालिएन भने अबको १० बर्षमा हरेक ३ मध्ये १ जनामा क्यान्सर हुने चेतावनी दिए । उनले नेपाल र भारतमा उस्तै प्रकृतिका क्यान्सरका समस्या रहेकाले नेपाल सरकारसँग मिलेर आफूहरुले क्यान्सरको रोकथाम, उपचारमा संयुक्त रुपमा काम गर्ने पहल सुरु गरेको समेत जानकारी दिए ।

यसैगरी सोही कार्यक्रममा रेडिएसन ओंकोलोजिस्ट डा लोहिथ रेड्डीले क्यान्सर बढेसँगै यसको उपचारमा नयाँ नयाँ प्रविधि समेत आएको जिकीर गरे । उनले अबको केही वर्षमा क्यान्सर उपचार केही सस्तो र अझ बढी व्यक्तिको पहुँचमा हुने समेत जनाए । उनले पश्चिमा देशहरुले आविष्कार गरेका उपकरणहरु र प्रविधिमा भर पर्नुपर्दा उपचार महंगो हुन गएको समेत बताए ।

एक प्रसंगमा उनले क्यान्सर रोग उपचारमा भित्रिएका नयाँ औषधि र उपकरणले जटिल अवस्थामा पुगिसकेको भनिएका बिरामी पुन सामान्य अवस्थामा फर्किन थालेको दावी गरे । ‘केही बर्ष अघि सम्म स्टेज फोर पछि हामीले अलि गाह्रो अवस्था भन्दथ्यौं तर अब कतिपय अवस्थामा यो सामान्य भइसकेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update