Swasthya Awaj
भारतमा क्यान्सरको नक्कली औषधिको बिगबिगी, नेपाली बिरामी पनि ठगिंदै
TB

भारतको दिल्ली पुलिसको क्राइम ब्रान्चले क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापी औषधिको नक्कली औषधि बनाएर बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीले ७ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको बताइएको छ । सो कार्यमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीलाई उदृत गर्दै त्यहाँको जागरण राष्ट्रिय पत्रिकाले लेखेको छ । सो गिरोहका ७ जनामध्ये दुई जना नयाँ दिल्लीको रोहिनी मार्गमा रहेको क्यान्सरको ठूलो अस्पतालमा गनिने राजीव गान्धी क्यान्सर अस्पतालका दुई कर्मचारी पनि रहेका छन् ।

ती गिरोहले अस्पतालका कोमल र अभिनय नाम गरेका दुई कर्मचारीसँग मिलेर बिरामीलाई किमो दिइसकेको इन्जेक्सनको खाली बोतल लिएर त्यसमा एन्टी फंगल औषधि हालेर दिल्ली, हरियाणा, बिहार तथा नेपाल र अफ्रिकी मुलुकबाट क्यान्सरको उपचारमा आएका सोझासाझा बिरामीलाई डिस्काउन्ट दिने भन्दै बिकाउने गरेको पाइएको हो । बिरामी पनि सस्तोमा औषधि पाइयो भन्दै चुप लागेर बस्दा नक्कली औषधिको चंगुलमा फसेको सो पत्रिकामा उल्लेख छ । उक्त औषधि भारतको मोती नगरमा बनाउने गरेको पाइएको छ । उक्त पत्रिकाका अनुसार नेपालबाट गएका कयौं क्यान्सरका बिरामी  यसबाट ठगिएको पाइन्छ ।
प्रहरीले ४ करोड बराबरको सात विदेशी र दुई भारतीय ब्रान्डका नक्कली औषधि र त्यसमा प्रयोग हुने अन्य उपकरण बरामद गरेको हो । यसैगरी प्रहरीले उनीहरुबाट १८ हजार अमेरिकी डलर, ५० हजार भारतीय रकम हीट गन मेशिन १९७ वटा खाली शिशी जफत गरेको स्रोतले बताएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update