Swasthya Awaj
न्याम्सको २२ औँ स्थापना दिवसका अवसरमा सरकार नागरिकको स्वास्थ्य प्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौँः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २२ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्य प्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो र यो दायित्त्व पूरा गर्न सरकार गम्भीर भएर लागेको बताए । उनले गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २ हजार ८०० शैया निःशुल्क उपलब्ध हुने व्यवस्था मिलाइएको बताए।

“सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैयाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ,” प्रधानमन्त्री प्रधानमन्त्री दाहालले भने, “यस्ता कामहरूले स्वास्थ्य क्षेत्रका अधिकार ब्यावहरमा कार्यान्वयन गर्नका लागि आधारभूत अर्थ राख्दछन् ।”

संविधानको व्यवस्था अनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्री दहालले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक प्रतिष्ठान बनाउन आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update