Swasthya Awaj
पूर्वाञ्चल विश्वविद्यालयको ३०० शैयाको शिक्षण अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउनेः प्रधानमन्त्री

विराटनगरः पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोठगाउँस्थित विश्वविद्यालय हाताभित्र ३०० बेडको अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउने घोषणा गरेका हुन् ।

विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय यस अधि गरे पनि चिकित्सा शिक्षाको मापदण्ड अनुसार विश्वविद्यालयको आफ्नै अस्पताल नहुँदा प्रक्रिया अगाडि बढ्न सकेको छैन । विश्वविद्यालयको अस्पतालमा अहिले ओपीडि र आकस्मिक सेवा मात्रै संचालन रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले मेडिकल कलेज सञ्चालनको निर्णय कार्यान्वयन गर्न सुविधायुक्त अस्पतालको लागि पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गर्ने बताए ।  

दिक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउँदै पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीले अलैँची, चिया, रुद्राक्ष, जडिबुटी, जुट, फलफूललगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्वूर्ण योगदान दिनुपर्नेमा जोड दिए । 

कृषि, उद्योग र पर्यटन विकासमा टेवा पु¥याउने र जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले रणनीतिक महत्व बोकेको विराटनगर चक्रपथ निर्माणसहित यस प्रदेशका प्रमुख पूर्वाधारको काम अगाडि वर्षमा अगाडि बढ्ने बताए । कार्यक्रममा २ हजार ९०० भन्दा धेरै विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update