Swasthya Awaj
भेरी अस्पतालमा दरबन्दी अनुसार कर्मचारी पूर्तिका लागि पहल गरिनेछ : मन्त्री मगर

बाँके: लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले आज मङ्गलवार भेरी अस्पतालको निरीक्षण गर्नु भएको छ । बर्दियाको गुलरिया अस्पतालमा मिर्गौला रोगीलाई केन्द्रित गर्दै डायलाइसिस सेवाको उद्घाटन गर्न जाने क्रममा मन्त्री मगरले भेरी अस्पतालको निरीक्षण गर्नुभएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.पवनजंग रायमाझीले अस्पतालको हालको अवस्था, सेवा प्रवाह, समस्या र चुनौतीका बारे जानकारी गराउनुभएको थियो । डा.रायमाझीले जनशक्ति अभाव र पूर्वाधार अभावका कारण बिरामीलाई प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको भन्दै जनशक्ति र पूर्वाधारका निमित्त मन्त्रालयले सहयोग गर्न जरुरी रहेको बताउनु भएको थियो ।

उहाँले पूर्वाधार अभावका कारण अस्पतालको ओपिडीमा बिरामीले घण्टौँ समय लाइन लाग्नु पर्ने अवस्था भएको बताउनुभयो । त्यसक्रममा मन्त्री मगरले पूर्वाधार र जनशक्ति अभाव भएपनि व्यवस्थापन गर्न नजान्दा समस्या बढी देखिएको प्रतिक्रिया दिनुभयो ।

‘जनशक्ति र पूर्वाधार अभाव छ त्यो म मान्छु उहाँले भन्नुभयो–‘तर सामान्य भिडभाडलाई पनि व्यवस्थापन गर्न नसक्नु व्यवस्थापकीय कमजोरी हो ।’ मन्त्री मगरले बिरामीलाई उत्साहित गर्ने व्यवहार गर्न नसक्नु व्यवस्थापकीय कमजोरी रहेको बताउनु भएको थियो ।

गरिब तथा विपन्न परिवारका बिरामीले सहज र सुलभ रूपमा अस्पतालमा उपचार पाउनुपर्नेमा जोड दिँदै मन्त्री मगरले पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रूपमा चिनिएको यस अस्पतालले बिरामीसँग नम्र र शिष्ट भएर काम गर्न पनि चिकित्सक र कर्मचारीलाई निर्देशन दिनु भएको थियो ।

मन्त्री मगरले कर्मचारी अभाव रहेको भन्ने कुरा रेडियो नेपालमा समाचार प्रकाशित भए पछि आफूले थाहा पाएको बताउँदै उहाँले कर्मचारीका विषयमा प्रदेश सरकारले संघीय सरकारलाई परिपत्र गर्ने बताउनु भयो । मन्त्री मगरले अस्पतालमा रहेको दरबन्दी बमोजिमको कर्मचारी पूर्तिका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

निरीक्षणका क्रममा मन्त्री मगरलाई अस्पताल विकास समितिका सदस्य डाक्टर डक्ट प्रसाद धितालले स्वागत गर्दै जनताले सोचे अनुसार सेवा प्रवाह गर्न नसके पनि स्वास्थ्य क्षेत्रमा अस्पताल प्रशासनको तत्परताले सेवा प्रवाहमा कुनै कमी नभएको जिकिर गर्नु भएको थियो ।

मन्त्री मगर सँगै मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थी, जन स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाही, दुर्गा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update