Swasthya Awaj
हाजिर गर्ने र टाप कस्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि कारबाही गर्दै मन्त्रालय

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यलय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको चेतावनी दिएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यलय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन दिएको हो।

मन्त्रालयले हाजिर गर्ने र सेवाग्राहीले नभेटिने अवस्था सिर्जना भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । ‘यस मन्त्रालयका स्वास्थ्य सेवा विभागलगायतका निकायहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हाजिरी हेर्दा आफ्नो निकाय/कार्यलयमा हाजिरी भएको देखिने तर निजलाई कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने एवं सेवाग्राहीले सेवा लिन गएको समयमा पनि सम्बन्धित कर्मचारीलाई फेला पार्न नसकी सेवाग्राहीले पाउनुपर्ने सेवा पाउन नसकेको भनी गुनासो प्राप्त हुनुका साथै यदाकदा पत्रपत्रिकाहरुमा फोटोसहित समाचार प्रकाशन भएको देखिएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको परिपत्रमा छ ।

कार्यलय समयमा आफ्नो कार्यकक्षमा गैह्र उपस्थिती रहनु प्रचलित कानुन, नैतिकता, वैयक्तिक आचारण एवं विधीको प्रतिकूल हुने भन्दैं सचिव बुर्लाकोटीले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधीको पालना गर्न भनेका छन् ।

साथै, परिपत्रमा सचिव बुर्लाकोटीले यस्तो गतिविधीमा संलग्नता पाइएमा कानुन बमोजिम कारवाही हुने उल्लेख गरेका छन् । स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीहरु कार्यकक्षमा नभेटिने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कार्यलय समयमै निजी क्लिनिक धाउने गरेको घटना बेला—बेलामा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले यस्ता गतिविधी रोक्ने परिपत्र न गर्नुपरेको हो ।

हेरौं स्वास्थ्य मन्त्रालयको निर्देशन पत्र 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update