Swasthya Awaj
एकै दिनमा ९ जनाको बाइपास ओपन हर्ट सर्जरी

काठमाण्डौः गंगालाल अस्पतालका युवा मुटु चिकित्सकहरु डा. नवीन गौतम, डा. विश्व पोखरेल र डा. निभेष राजभण्डारीले एकै दिनमा ९ जनाको बाइपास ओपन हर्ट सर्जरी गरेर कीर्तिमान राखेका छन् ।

अस्पतालमा भर्ना भएका ३७ देखि ७२ वर्ष सम्मका ७ पुरुष र २ महिला गरि ९ जनाको बाइपास ओपन हर्ट सर्जरी  भएको हो।

गंगालाल अस्पतालले दैनिक २ देखि ३ जनाको बाइपास अप्रेसन सधैं गर्ने गरेको छ। अरु भल्बको र बच्चाहरुको अप्रेसन गरेर ६ देखि ८ जनाको दैनिक सर्जरी हुने गर्दछ।

अस्पतालका कार्डियाक सर्जन डा. विश्व पोखरेलले बिरामीहरुलाई अप्रेशनकै दिन होसमा ल्याएर भ्यान्टिलेटर बाट निकालेर केही दिनपछि डिस्चार्ज गरिएको बताए ।

डा. विश्व पोखरेलका अनुसार बाइपास भनेको हर्टयाक भएका बिरामीहरुलाई गर्ने सर्जरी हो । तारबाट स्टेन्ट जाली हाल्न नमिल्ने अथवा नसकिने बिरामीलाई यो जटिल अप्रेसन गर्ने गरिन्छ।

देशमै दक्ष युवा जनशक्तिको बिकास भएको कारणले पहिले भन्दा धेरै बिरामीको उपचार र स्तरीय अप्रेशन हुने गरेको छ। हामी आफ्नै देशमा मुटुका सबै बिरामीको अप्रेशन गर्न सक्षम छौँ र भारत तथा अन्य देशमा जान जरुरी छैन । हाम्रो अप्रेशन अछिको परिणाम कुनैपनी विकसित देशको भन्दा कम छैन, डा. विश्व पोखरेलले गर्वका साथ भन्नुभयो ।

सरकारले मुटु रोगी बिरामीको उपचारमा सहयोग गर्दै आएको छ । अरु नयाँ प्रविधि भित्र्याएर चिकित्सकहरुलाई थप प्रोत्साहन गरेमा हामी अझै राम्रो उपचार सेवा दिन सकिने डा. नवीन गौतमले बताउनुभयो ।

डा. पोखरेलका अनुसार आउदो दिनमा मुटु प्रत्यारोपण र रोबोटिक सर्जरी लगायतका सेवाहरु दिनका लागि हामी तयारी गरिरहेका छौं ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update