Swasthya Awaj
मुगुमा एक्सरे मेसिन पुनः सुचारु भएपछि बिरामीलाई सहज

मुगु: कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुमा केही महिना अगाडि बिग्रिएर थन्क्याइएको एक्सरे मेसिन पुन सञ्चालनमा आएको छ ।

केही महिना अगाडि विद्युतीय भोल्टेज अनियमितताका कारण बिग्रिएको एक्सरे मेसिनको आन्तरिक पार्ट (इमेज क्यासेट पुन मर्मत गरे पछि केही समय यता अस्पतालमा एक्सरे मेसिन सञ्चालनमा आएको हो । मुगु जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिन केही समय अगाडी बिग्रिए पछि मुगु लगायत तल्लो हुम्ला जिल्लाका विभिन्न रोगका एक्सरे गर्नु पर्ने बिरामी हरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जानू पर्ने बाध्यता रहेको थियो ।

हाल मुगु जिल्ला अस्पतालमा विभिन्न रोगका बिरामीहरू दैनिक ५०र६० जना आउने गरेका र जस मध्ये १५ देखि २० जना एक्सरे गर्नु पर्ने अवस्थाका बिरामी हुने भएकोले एक्सरे(मेसिन मर्मत गरिए पछि बिरामी हरूलाई निकै सहज भएको जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर कमल ढुङ्गानाले बताए ।

मुगुको बिद्युत् प्रसारण लायन भरपर्दो नभएका कारण विद्युतीय भोल्टेज अनियमित हुँदा एक्सरे बिग्रिएको र हालै एक्सरे मर्मत पछि दैनिक १० देखि १५ लिटर डिजेल खर्च गरेर जेनेरेटर चलाई बिरामी हरूको एक्सरे गर्नु पर्ने बाध्यता रहेको पनि डाक्टर ढुङ्गानाले गुनासो गर्नु भयो ।

उहाँका अनुसार मुगुको बिद्युतको भोल्टेज स्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरणहरू बिग्रिएर थन्क्याएका छौ ,एक्सरे मेसिन पनि यसरी बिद्युत् भोल्टेज स्थिर नभएर नै बिग्रिएको ढुङ्गानाले बताउनु भयो । लाखौँ खर्च गरेर एक्सरे मेसिन बनायो फेरि बिद्युतको कारणले बिग्रिहाल्छ ढुङ्गानाले बताउनु भयो ।

केही महिना अघि अस्पताल हाता भित्र विद्युतीय ट्रान्सफर्मर जडान गर्ने प्रक्रिया अघि बढेको भनिए पनि ढिलाइ हुँदा बिरामीहरूको हाल जेनरेटर चलाई एक्सरे चलाउनु परेको स्वास्थ्य प्रमुख डाक्टर ढुङ्गानाको थप भनाई छ । एक्सरे मेसिन चलाउन २ सय २० भोल्ट बिद्युतको आवश्यकता पर्ने गरेको र हालको बिद्युतको भोल्टेज अपुग छ । त्यसैले महँगो भए पनि एक्सरेको लागि चाहिने बिद्युतको लागि जेनेरेटर चलाउनु परेको ढुङ्गानाको भनाई छ ।

जिल्ला अस्पताल ठिनी बाहेक एक्सरेको कुनै विकल्प मुगु जिल्लामा नभए पछि मुगुका बिरामीलाई जुम्ला जान आउन सवारी साधन भाडा र होटल खर्च गरि न्यूनतम ७ हजार भन्दा बढी रकम लाग्ने गरेको छ । २०६३ सालमा जिल्लाका साबिकका गम, सोरू, खतेड र करान भेगका जनताहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले १५ शैय्रयाको अस्पताल संन्चालनमा आएको थियो ।

उक्त जिल्ला अस्पताल बिरामीको लागि अझैँ व्यवस्थित र भरपर्दो चिकित्सा सेवा संन्चालन हुन सकेको छैन । कोरियन सरकारले अस्पतालको आवश्यक उपकरणहरू सहित भौतिक पूर्वाधार निर्माण गरि दिए पनि आन्तरिक रुपमा जनशक्ति र व्यवस्थित बिद्युत् अभाव, फार्मेसी सेवा सञ्चालन र रक्तसञ्चार केन्द्र, नहुँदा बिरामी मर्कामा पर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update