Swasthya Awaj
गर्मी बढेसङ्गै बाँकेका अस्पतालमा बिरामीको अत्यधिक चाप

बाँके: गर्मी मौसम भन्ने बित्तिकै रोगहरूको मौसम भन्ने बुझिन्छ।ब्याक्टेरिया र भाइरसहरू बढी सक्रिय हुने भएकाले मानिसहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्या आउने चिकित्सकहरूको भनाई रहेको छ। चैत्र महिना सुरुभएसङ्गै बाँके जिल्लामा गर्मी सुरु भए सङ्गै तातो हावा चल्न थालिसकेको छ जसको कारण अस्पतालमा बिरामीको चाप वृद्धि हुन थालिसकेको छ।

गर्मी बढे सङ्गै बाँकेको भेरी अस्पताल , नर्सिङ होम , कोहलपुरको मेडिकल कलेज , कोहलपुर नगर अस्पताल र वडा वडाका आधारभूत स्वास्थ्य चौकी र निजी अस्पतालहरूमा मौसमी फ्लु देखि विभिन्न रोगका बिरामीहरूको चाप बढेको छ।

पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तनले हाम्रो देशमा पनि वातावरणीय प्रभाव पारेको छ। गर्मी मौसममा वातावरण पनि सुख्खा हुने भएकाले मौसमी फ्लु टाउको दुख्ने, शरीर आलस्य हुने, झाडापखाला र वान्ता हुने ,पानीको मात्रा कम हुने, ज्वरो टाइफाइड , छालाको एलर्जी, आँखा सुख्खा हुने, डेङ्गि , पिसाब र मृगौलामा समस्या हुनुको साथै श्वासप्रश्वासका बिरामी पनि बढी हुने गरेको भेरी अस्पतालका चिकित्सकहरू बताउँछन्

यो समयमा रोग प्रतिरोधात्मक क्षमता कम भएका दिर्घरोगि, गर्भवती तथा बालबालिकामा बढी जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक होमनाथ अधिकारीको ठ सुझाव छ।

ब्याक्टेरिया भाईरस तथा जीवाणु बढी सक्रिय हुने गर्मी एवं बर्षायाममा रोगको प्रकोप बढ्ने गर्छ। सर्ने तथा नसर्ने विभिन्न रोग तथा विशेषत रुघाखोकी ,ज्वरो टाइफाइड लगायतका लक्षण भएका बिरामी अस्पताल पुग्ने गरेका छन् । नगर अस्पताल परिसरमा भेटिएका सेवाग्राही नरबहादुर केसीले आफूलाई केही दिनदेखि रुघाखोकी र ज्वरोले सताएर उपचारको लागि आउने गरेको बताउनु भयो।

गर्मी बढे सङ्गै खानेकुरा राम्रो सङ्ग नपच्ने र वरपरको वातावरण पनि धेरै फोहोर हुने भएकाले मानिसहरू बिरामी हुने गरेका छन् । त्यसैले गर्मी मौसममा खानपानमा विशेष ध्यान दिनुको साथै घर वरपर सरसफाइ गर्नु र धुवाँ धुलोबाट पनि बच्न आवश्यक रहेको चिकित्सकको भनाई छ।

भाइरल ज्वरो आएका बिरामी नआत्तिन झोलिलो पदार्थ बढी खान , सफा र शुद्ध पानी पिउन, खानपिन र सरसफाइ लगायत स्वास्थ्य सुरक्षाका मापदण्डमा विशेष ध्यान दिनुपर्ने सुझाव चिकित्सकको छ।

साथै गर्मिमौसममा लामखुट्टेको टोकाइबाट धेरै रोग लाग्नसक्ने हुँदा सावधानी अपनाएर लामखुट्टेको टोकाइबाट आफु अनि आफ्ना घरपरिवार र बालबालिकालाई सुरक्षित राख्न चिकित्सकहरूले आग्रह समेत गर्नु भएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update