Swasthya Awaj
मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी

जुम्लाः जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ४ बस्ने एकै घरका ६ जनाले मरेको भेडाको मासु खाँदा बिरामी परेका छन् । जंगलमा विष हुने घाँस खाएको भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन् ।

उनिहरुको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । तीन जना पुरुष र तीन जना महिला बिरामी परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. पुजन कुमार रोकायाले बताए । 

उनका अनुसार बिरामी हुनेमा ४० वर्षका विष्णबहादुर अधिकारी, उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरु सुष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन् ।

बुधबार बिहान ९ बजेतिर मरेको भेडाको मासु खाएको बताईएकोछ । ’जंगलमा पलाउन लागेको विष खाएर मरेको भेडाको मासु खाँदा यस्तो भएको हो,’ उनले भने, ‘पहिला पनि यसरी मरेका भेडाको मासु त खान्थ्यौं । हामीलाई केही हुँदैनथ्यो ।’ 

बिरामी ६ जनाको अवस्था अहिले सामान्य रहेको उपचारमा संलग्न डा. रमाकान्त रायले बताए । ‘मासु भर्खरै खानु भएको रहेछ । असर एकदमै चाँडै देखिएको छ,’ उनले भने, ‘अहिले अवस्था सामान्य छ । तर, दुई तीन दिन नहेरी केही भन्न सकिन्न ।’ 

 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update