Swasthya Awaj
गरिब तथा विपन्न समुदायलक्षित जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आउँदै

मोरङ: मोरङको कटहरी गाउँपालिका–२ स्थित हल्दीवारीमा गरिब तथा विपन्न समुदायलक्षित जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ ।

दुई अर्ब ५० करोडको लागतमा सात तले अस्पताल निर्माण भइरहेको छ । हाल रु ६४ करोड लागतमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुई वटा भवन निर्माण हुने अस्पताल आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने गरि भवनको निमार्ण कार्य भइरहेको अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र प्रसाद मण्डलले बताउनुभयो ।

उहाँले तीन सय शय्याको अस्पताल सञ्चालनका लागि पहिलो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र सोही ठाउँमा अन्य दुई वटा भवन निर्माणको काम पनि सुरु भइरहेको बताउनुभयो । यहाँ पहिलो भवनको निर्माण कार्य सम्पन्न भएसँगै एक सय बेडबाट सेवा सुरु गरिने र अस्पताल परिसरमा एमविविएस तथा नर्सिङका विद्यार्थीहरूलाई पढाउने गरी संरचना निर्माण हुने अध्यक्ष मण्डलले बताउनुभयो ।

उहाँले चिकित्सक तथा नर्स उत्पादनका लागि आवश्यक पर्ने सबै प्रकारको शिक्षा उपलब्ध गराउने अस्पतालको लक्ष्य रहेको पनि बताउनुभयो । कटहरी बजार चोकबाट दक्षिणतर्फ दुई किलोमिटर दूरीमा निर्माण सुरु भएको अस्पताल सञ्चालनबाट स्थानीयले विभिन्न अवसरका साथै रोजगारी प्राप्त गर्ने अध्यक्ष मण्डलले बताउनुभयो । उहाँले रकम अभावमा नागरिकले स्वास्थ्य उपचार गर्न नपाई मृत्यु हुन नपरोस् हेतुले सो क्षेत्रमा अस्पताल निर्माण सुरु गरिएको बताउनुभयो ।

जीवन विकास समाजका संस्थापक अध्यक्ष समेत रहनुभएका मण्डलले यो अस्पतालको लक्ष्य नाफा कमाउन नभई सेवा भावका लागि भएकाले जतिसक्दो चाँडो अस्पताल सञ्चालनमा ल्याउने बताउनुभयो ।

स्थानीय रमनीदेवी ऋषिदेवले गाउँमा अस्पताल सञ्चालनमा आएपछि आफूहरूले सहज रुपमा उपचार पाउने बताउनुभयो । गाउँमा अस्पताल नहुँदा सहरमा उपचारका लागि जाँदा बिरामी ठगिने गरेकाले अस्पताल चाँडै सञ्चालनमा ल्याउन उहाँले आग्रह गर्नुभयो ।

अर्का स्थानीय कपुरी ऋषिदेवले गाउँमा अस्पताल बनेपछि गरिब तथा विपन्न परिवारलाई उपचारमा छुट हुनुपर्ने र सो अस्पतालमा पनि स्वास्थ्य विमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update