Swasthya Awaj
धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुँदै ।

कैलालीः कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका छन् ।अभियान अन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका हुन् ।

318460525_696928425392406_2257683034763125843_n-1712311015.png
आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गत आव २०७९।८० को मङ्सिर २१ गतेदेखि सुरु गरिएको ‘आमा बचाउ’ अभियानमा गर्भवती, प्रसव र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार अभियानमा सो अवस्थाका महिलालाई अस्पतालसम्म पु¥याउन उपमहानगरले हाल चार एम्बुलेन्सबाट सेवा दिइरहेको छ । एम्बुलेन्स प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने उनले बताए । एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरिरहेको तथा तीन एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा रहेको उनले जानकारी दिए ।

‘आमा बचाउ’ अभियानमा चालु आवको फागुन मसान्तसम्म उपमहानगर क्षेत्रका तीन सय २२ गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए ।

निःशुल्क एम्बुलेन्स सेवा भएपछि प्रसूति सेवाका लागि अस्पताल लैजानुपर्ने महिलालाई निकै सहज भएको वडा नं १६ का वडाध्यक्ष रामलाल चौधरीले बताए । “ग्रामीण क्षेत्र भएकाले अन्य सवारीसाधन पाउन पनि कठिन हुन्छ”, उनले भने, “अहिले निःशुल्क एम्बुलेन्स सेवा हुँदा धेरै सहज भएको छ, आर्थिक अवस्था कमजोर भएकालाई झनै सहज भएको छ ।”

ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्यावस्थालाई ध्यानमा राखेर ‘आमा बचाउ’ अभियान सुरु गरिएको नगरप्रमुख गोपाल हमालले बताएकाछन । “ग्रामीण क्षेत्रमा सवारीसाधन नपाउने, प्रसूति सेवाका लागि गोरुगाडा, ट्र्याक्टरमा अस्पताल ल्याउनुपर्ने अवस्था छ । त्यसले गर्दा आमा र शिशुको ज्यान जोखिममा हुने भएकाले उहाँहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘आमा बचाउ’ अभियान सञ्चालन गरिएको हो ।”

उपमहानगरपालिकाले आफूसँग भएका एम्बुलेन्सलाई आमा बचाउ अभियानमा प्रयोग गरेको नगरप्रमुख हमालले बताए । अभियानलाई वडाको मागअनुसार विस्तार गर्दै लैजाने उहाँको भनाइ छ । गत आव २०७९।८० मा ‘आमा बचाउ’ अभियानबाट उपमहानगर क्षेत्रका दुई सय ५८ महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update