
काठमाडौँ, २०८२ भाद्र १- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल तथा डेन्टल कलेजमा हालै गरिएको सिट वृद्धि निर्णय फिर्ता नलिए सत्याग्रहमा उत्रिने चेतावनी दिएका छन्। आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उनले सरकार, चिकित्सा शिक्षा आयोग र सम्बन्धित नेताहरूलाई लक्षित गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा नाफामुखी गतिविधि बढ्न नदिन आग्रह गरेका छन्।
डा. केसीले भनेका छन्, “हाल म दुर्घटनाको चोटबाट तङ्ग्रिँदै छु। तर सिट बढाउने गैरजिम्मेवार निर्णय तुरुन्त फिर्ता नगर्ने हो भने सत्याग्रहसहितको आन्दोलन गर्न बाध्य हुनेछु।” उनले निजी कलेजहरूमा गरिएको सिट वृद्धि निर्णयले शुल्क बढ्ने बाटो खोल्ने र आवासीय चिकित्सकमाथि चरम श्रम शोषण हुने चेतावनीसमेत दिएका छन्।
उनले झापा र सुदूरपश्चिमका सरकारी मेडिकल कलेज र ठूला अस्पताललाई प्राथमिकता नदिइएको र सरकारी लगानीले निर्माण गर्न सकिने पूर्वाधारलाई खेर जान दिइएको भन्दै आपत्ति जनाएका छन्। त्रिवि शिक्षण अस्पतालमा आधारभूत पूर्वाधारको अभाव र बिरामीको चापका कारण १०० विद्यार्थी पढाउन कठिनाइ भए पनि कम पूर्वाधार भएका निजी कलेजलाई १३० सिट दिने निर्णय दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ।
प्रेस विज्ञप्तिमा डा. केसीले सरकार र आयोगका नेताहरूलाई आरोप लगाउँदै भनेका छन् कि स्वास्थ्य र शिक्षा क्षेत्रलाई नाफामुखी गतिविधि तर्फ धकेल्ने, सरकारी स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति र पूर्वाधारको कमीलाई बेवास्ता गर्ने निर्णय भइरहेको छ। उनले प्रचण्ड, केपी ओली र शेरबहादुर देउवामाथि स्वास्थ्य र शिक्षा नीति प्रभावित गर्ने आरोप पनि लगाए।
डा. केसीले सिट बढाउने निर्णय फिर्ता लिन, शुल्क वृद्धि रोक्न र आवासीय चिकित्सकको भत्ता सुनिश्चित गर्न जोडदार माग राखेका छन्। उनले विगत दुई दशकदेखि गुणस्तरीय, सस्तो र समतामूलक स्वास्थ्य तथा शिक्षा सेवाका लागि संघर्ष गर्दै आएको स्मरण गर्दै अहिले पनि आन्दोलनको आवश्यकता पर्न सक्ने चेतावनी दिएका छन्।
उनको विज्ञप्तिमा भनिएको छ कि हालको निर्णयले शिक्षा र स्वास्थ्य सेवामा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने सम्भावना छ। यदि मागहरू पूरा नगरेसम्म सत्याग्रहसहितको आन्दोलनमा उत्रिनु पर्ने स्थिति सिर्जना भएमा त्यसको जिम्मेवारी सम्बन्धित निकायमा पर्ने डा. केसीले स्पष्ट पारेका छन्।
यस कदमले निजी मेडिकल कलेजमा सिट वृद्धि, शुल्क वृद्धि र आवासीय चिकित्सकको अवस्था जस्ता विषयमा नयाँ बहस सुरु गराउने अपेक्षा गरिएको छ।
उनको विज्ञप्ति