Swasthya Awaj
नेपालमा ‘राष्ट्रिय स्ट्रोक उपचार प्रोटोकल २०८२’ लागू, गोल्डेन आवरभित्र उपचारमा जोड

काठमाडौँ, २०८२ साउन ३०- नेपालमा स्ट्रोक (मस्तिष्कघात) उपचारलाई एकीकृत, छिटो र प्रभावकारी बनाउन सरकारले पहिलोपटक “राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल २०८२” लागू गरेको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा भएको मन्त्रीस्तरीय निर्णयबाट प्रोटोकल स्वीकृत भएको हो। मन्त्रालयका अनुसार यस प्रोटोकलले ग्रामीण स्वास्थ्य चौकीदेखि विशेषज्ञ अस्पतालसम्मका सबै तहका स्वास्थ्य संस्थामा स्ट्रोक उपचार प्रक्रियालाई समान मापदण्डमा ल्याउनेछ।

TB

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, स्ट्रोक नेपालमा मृत्यु र दीर्घकालीन अपाङ्गताको प्रमुख कारण बनेको छ। उनले भने, “गोल्डेन आवर” अर्थात् घटना भएको पहिलो केही घण्टाभित्र सही उपचार भएमा ठूलो संख्यामा ज्यान बचाउन र अपाङ्गताको जोखिम घटाउन सकिन्छ।

यो प्रोटोकलमा स्ट्रोकको आकस्मिक अवस्था पहिचान गर्ने विधि, औषधि र शल्यक्रिया उपचारका मापदण्ड, बिरामीलाई उचित अस्पतालमा छिटो रिफर गर्ने प्रणाली, र पुनर्स्थापना सेवासम्मका सबै चरणलाई स्पष्ट रूपमा तोकिएको छ। साथै, सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार विकास, चिकित्सक तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, र प्रविधिको उपयोगसमेत यसमा समावेश छ।

मन्त्रालयले सरोकारवालासँगको लामो छलफलपछि तयार पारेको यस प्रोटोकलको प्रभावकारी कार्यान्वयन भएमा नेपालमा स्ट्रोक उपचारको गुणस्तर उल्लेख्य रूपमा सुधार हुने र हजारौं नागरिकको जीवन बचाउने विश्वास लिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update