Swasthya Awaj
नेपालमा पहिलो ‘हिमालयन इन्टरनेशनल स्ट्रोक समीट’ साउन ३१ गतेदेखि सुरु हुने

काठमाडौँ, २०८२ साउन ३०- नेपालमा पहिलोपटक हिमालयन इन्टरनेशनल स्ट्रोक शिखर सम्मेलन साउन ३१ गतेदेखि सुरु हुने भएको छ। नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा नेपालसहित ११ देशका विशेषज्ञहरु सहभागी हुनेछन्।

आयोजकहरुले जनाएअनुसार, उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्नेछन्। पहिलो दिनको वैज्ञानिक सत्रमा २८ जना अन्तर्राष्ट्रिय तथा ३२ जना राष्ट्रिय विज्ञहरुले स्ट्रोकसम्बन्धी नवीनतम अनुसन्धान, उपचार प्रविधि, नीतिगत विषय र क्लिनिकल अनुभवबारे प्रस्तुति दिनेछन्।

TB

दोस्रो दिन सीप अभिवृद्धि गर्ने प्रशिक्षण तथा कार्यशालाहरु संचालन हुनेछन्। जसमा एनआइएच स्ट्रोक स्केल (NIHSS), स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटुलिनम टक्सिन (बोटोक्स) थेरापीका साथै मौखिक र पोस्टर प्रस्तुति समेत रहनेछ।

आयोजक समितिका अनुसार, सम्मेलनको मुख्य उद्देश्य नेपालमा स्ट्रोकको वास्तविक अवस्था उजागर गर्नु, उपचार प्रविधिमा सुधार ल्याउनु र सातै प्रदेशमा रहेका चुनौती तथा सम्भावनाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छलफल गर्ने हो।

नेपाल स्ट्रोक प्रोजेक्टकी परियोजना प्रबन्धक डा. रचना नकर्मीका अनुसार, यो सम्मेलनले ज्ञान आदानप्रदान र सहकार्यलाई मजबुत बनाउनेछ भने नेपालसहित हिमालय क्षेत्रका देशहरुमा स्ट्रोकको रोकथाम, उपचार र अनुसन्धानका क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखिएको छ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, डब्ल्यूएचओ नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, वर्ल्ड स्ट्रोक अर्गनाइजेसन, एसिया प्यासिफिक स्ट्रोक अर्गनाइजेसन र एन्जल इनिसिएटिभले सम्मेलनमा सहयोग पुर्‍याएका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update