
काठमाडौँ, २०८२ साउन २९- आगामी शैक्षिक सत्रदेखि देशभरका मेडिकल कलेज र स्वास्थ्य शिक्षा संस्थानमा अध्ययन सीट संख्या बढाइने भएको छ। प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको २१औँ बैठकले एमबीबीएस, बीडीएससहित विभिन्न तहका स्वास्थ्य शिक्षा कार्यक्रमका लागि नयाँ सीमा तोक्ने निर्णय गरेको हो।
निर्णय अनुसार, एमबीबीएसमा अधिकतम १३० र बीडीएसमा ६० सिटसम्म अनुमति दिइनेछ। मापदण्ड पूरा गर्ने कलेजहरूमा मात्रै यो सीमा लागू हुनेछ। विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले १३० सिट पाउनेछन् भने पोखराको मणिपाल शिक्षण अस्पताललाई १२० सिट तोकिएको छ।
त्यसैगरी, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमहरूमा पनि सीट संख्या बढाइनेछ। यसअघि असार अन्त्यमा बसेको आयोगको बैठकले प्रमाणपत्र तहमा सिट निर्धारण प्रक्रिया अघि बढाएको थियो।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले भने सीट र शुल्क वृद्धि विद्यार्थी तथा अभिभावकमाथि आर्थिक बोझ पर्ने भन्दै आपत्ति जनाएका छन्। उनले चिकित्सा शिक्षा प्रणालीमा पारदर्शिता र समान पहुँच सुनिश्चित गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।