Swasthya Awaj
स्वास्थ्य मन्त्रालयको निर्देशन: संघीय अस्पताल र निकायलाई सात दिनभित्र वार्षिक कार्ययोजना पेश गर्ने आदेश

काठमाडौँ, २०८२ साउन २९- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पताल र स्वास्थ्य संस्थालाई एक हप्ताभित्र वार्षिक व्यावसायिक कार्ययोजना बुझाउन निर्देशन दिएको छ। मन्त्रालयको भनाइअनुसार, यस कदमले स्वास्थ्य सेवाको गुणस्तर सुधार, लक्ष्यअनुसारको कार्यान्वयन र समयमै बजेट खर्च सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

मन्त्रालयले प्राप्त हुने योजनाको आधारमा मातहतका संस्थासँग कार्य सम्पादन सम्झौता गर्ने तयारी गरेको छ। यस सम्झौताले अस्पताल र स्वास्थ्य संस्थालाई थप जवाफदेही र नतिजामुखी बनाउन सहयोग गर्ने विश्वास लिइएको छ।

TB

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, ‘यस प्रक्रियाले प्रत्येक संस्थाको वार्षिक कार्ययोजना र प्रगतिलाई स्पष्ट रूपमा मापन गर्न सजिलो हुनेछ।’ विगतमा बजेट भाषणमा घोषणा भएका धेरै स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुने र बजेट समयमै खर्च नहुने समस्या देखिँदै आएको भन्दै, यसपटक आर्थिक वर्षको सुरुवातमै सक्रियता देखाइएको हो।

मन्त्रालयका वरिष्ठ अधिकारीहरूका भनाइमा, स्वास्थ्य संस्थासम्बन्धी निर्देशिका, २०७० मा पनि व्यावसायिक योजना आवश्यक पर्ने प्रावधान भए तापनि, हाल सञ्चालनमा रहेका सबै संघीय स्वास्थ्य संस्थालाई एकैपटक यस्तो योजना पेस गर्न निर्देशन दिइनु यो पहिलोपटक हो। यस कदमबाट स्रोत–साधनको अधिकतम उपयोग गर्दै स्वास्थ्य सेवा विस्तारमा ठोस सुधार हुने अपेक्षा राखिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update