
काठमाडौँ, २०८२ साउन २९- सरकारले स्वास्थ्य समूहअन्तर्गतका सहसचिवहरूको सरुवा र काजमा खटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय र प्रदेश तहमा कार्यरत उच्च तहका प्रशासनिक अधिकृतहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।
निर्णय अनुसार, कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलिया अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत हुनेछन्। निर्वाचन आयोगमा कार्यरत सहसचिव निता पोखरेल अर्याल र राष्ट्रिय योजना आयोगमा रहेका हेमराज सुवेदी पनि स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन्।
त्यस्तै, मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा रहेका सहसचिव डा. श्रवणकुमार मिश्रलाई पनि स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ।
स्वास्थ्य मन्त्रालयका सहसचिव ऋषिराज आचार्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ भने सहसचिव डा. यदुचन्द्र घिमिरे कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काजमा खटाइएका छन्।
सरकारका अनुसार, यो सरुवाले संघीय र प्रादेशिक स्तरमा स्वास्थ्य नीति कार्यान्वयनमा गति ल्याउने अपेक्षा गरिएको छ।