
काठमाडौँ, २०८२ साउन २९- पछिल्लो एक वर्षमा झण्डै २ हजार ७ सय नेपाली चिकित्सकले विदेशमा अध्ययन, तालिम वा रोजगारीका अवसर खोज्दै नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ’ प्रमाणपत्र लिएका छन्। यो संख्या नेपालका स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिको विदेश पलायन दर उच्च रहेको संकेत हो।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार १ साउन २०८१ देखि ३२ असार २०८२ सम्मको अवधिमा २ हजार ६८१ चिकित्सकले प्रमाणपत्र लिए। “यो प्रमाणपत्र विदेशका मेडिकल कलेज, अस्पताल वा विश्वविद्यालयमा अध्ययन, फेलोसिप वा कार्य अवसरका लागि आवश्यक पर्छ। सबैजना स्थायी रूपमा उतै बस्छन् भन्ने होइन,” उनले भने। तर, उनले राम्रो अवसरको खोजीमा जानेहरूको संख्या लगातार बढिरहेको अनुभव सुनाए।
काउन्सिलको तथ्यांकअनुसार, सो अवधिमा सबैभन्दा धेरै चिकित्सकले अमेरिकाका लागि प्रमाणपत्र लिएका छन्। अमेरिकातर्फ जाने संख्या ५८७ पुगेको छ। त्यसपछि बेलायत ५५० सहित दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा मालदिभ्स छ, जहाँ जान ३८४ चिकित्सकले प्रमाणपत्र लिएका छन्। जानकारहरूका अनुसार मालदिभ्स रोजगारीका लागि नेपाली चिकित्सकको प्रमुख गन्तव्य बन्दै आएको छ।
मध्यपूर्वतर्फको आकर्षण पनि कम छैन। युनाइटेड अरब इमिरेट्स (युएई) का लागि २०५, ओमानका लागि ३६ र कतारका लागि १० चिकित्सकले प्रमाणपत्र लिएका छन्। अस्ट्रेलियाका लागि २५३, भारतका लागि १९२, क्यानडाका लागि ३८, जर्मनीका लागि १६ र डेनमार्कका लागि ३३ चिकित्सकले पनि विदेश जाने तयारी गरेका छन्। सिंगापुर (९), हङकङ (११), आइरल्याण्ड (६) र साउदी अरेबिया (३) का लागि पनि प्रमाणपत्र लिनेहरू छन्।
रोचक कुरा के भने, नेपालमै अध्ययन वा रोजगारीका लागि पनि २९१ जनाले ‘गुड स्ट्यान्डिङ’ प्रमाणपत्र लिएका छन्। अन्य विभिन्न मुलुकका लागि जाने ५७ जनाले पनि सो कागजात तयार पारेका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार, विदेशतर्फको यो बढ्दो मोह नेपालमा स्वास्थ्य सेवा क्षेत्रका संरचना, तलब सुविधा र दीर्घकालीन पेशागत अवसर सुधार्ने चुनौतीसँग प्रत्यक्ष जोडिएको छ। यदि योग्य जनशक्तिलाई देशमै रोक्ने नीति र वातावरण निर्माण भएन भने भविष्यमा ग्रामीण र दूरदराज क्षेत्रको स्वास्थ्य सेवा अझै प्रभावित हुने चेतावनी उनीहरूले दिएका छन्।