Swasthya Awaj
स्वास्थ्यमन्त्री पौडेल: ५५ आधारभूत अस्पताल छिट्टै सञ्चालनमा ल्याइने

काठमाडौँ, २०८२ साउन २८- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका ५५ वटा आधारभूत अस्पताल छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन्। उनले तीनै तहका सरकारबीच आपसी समझदारीका आधारमा कार्यक्रम अघि बढिरहेको स्पष्ट पारे।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भने, “यी आधारभूत अस्पतालहरूमा चिकित्सक र आवश्यक उपकरण पुर्‍याउने तयारी भइरहेको छ। मन्त्रालयबाट प्रतिबद्धता गरिएका दायित्वहरू प्रक्रियागत ढङ्गबाट समयमा सम्पन्न गरिएको छ। कतिपय अस्पताल भने प्रक्रियागत विषय टुङ्गो लाग्न बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकिएको हो।”

TB

उनले प्रक्रियागत कारणले केही भवनहरू हस्तान्तरण नभएका, निर्माण सम्पन्न नभएका वा मुद्दामा परेका भन्दै सञ्चालनमा ढिलाइ भएको बताए। उदाहरण स्वरूप, बाँके जिल्लाको राप्ती क्षेत्र, सोनारी नरैनापुर-४ मा अस्पतालको भौतिक निर्माण शतप्रतिशत सम्पन्न भइसकेको छ र हस्तान्तरणपछि तुरुन्तै सञ्चालनमा आउने उनले बताए।

स्वास्थ्यमन्त्री पौडेलका अनुसार, अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि पनि बनेर पारित भइसकेको छ। यसले स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार गर्ने र जनता नजिकै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यलाई सशक्त बनाउने विश्वास गरिएको छ।

विशेषज्ञहरूले भनेका छन्, आधारभूत अस्पतालहरू संचालनमा आएसँगै ग्रामीण क्षेत्रका स्वास्थ्य पहुँचमा सुधार, आपत्कालीन स्वास्थ्य सेवाको सहजता, र स्थानीय स्वास्थ्य पूर्वाधार सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update